देश जहाँ बसेपनि दुख्छ

सबै खाले दर्शन र वादभित्र अत्यन्त शाश्वत रुपमा चलायमान रहेको जीवनवादको दर्शन र यसको गतिशीलता मलाई मन पर्ने स्वदर्शन हो । जीवनको शाश्वत र सार्थक पक्षमा न कुनै आडम्बर छ न कुनै पुरातन तर्क । त्यसैले जीवन र जगतलाई त्यहि रुपमा बुझेकोले म कहिलेपनि कुनै जडसुत्रवादी मनोगत राजनैतिक दर्शन धार या पुरातनिक अतिवादी धार्मिक उपदेशहरुबाट परिचालित भईन । 'मेरो धर्म, मेरो जाति' भनेर अरुलाई हियाउने र होच्याउने अल्प चेतनाले मेरो मानव मनमा कहिल्यै घर जमाएन । स्कूले जीवनमा जानी नजानी पढेको मार्क्स, लु सुन अनि गोर्किका केहि पुस्तकहरुले मलाई धार्मिक रुपमा नास्तिक तर व्यावहारिक रुपमा जीवनवादी बनाएछ । समाजमा सकेसम्म सबैकालागी काम गर्ने, सबैको प्यारो हुने लोभ ममा थियो जुन अद्यापि कायमै छ । पुर्व चार नँ. भोजपुर माझ किराँतमा जन्म भई आफ्नो स्कूले जीवन त्यहि पर्वते सँस्कारमा व्यतित गरेकोले होला शायद नेवारको छोरो भएर पनि कहिल्यै जातीय या भाषिक सवालमा 'मेरो जाति' या 'मेरो भाषा' भनेर वकालत गर्नुपर्ने आवश्यकता नै परेन । अत्यन्त महँगो नेवारी सँस्कारका कारण आफ्नो झिटि गुण्टा बोकेर भक्तपुरबाट ताप्लेजुङ्ग र पाँचथरको दोभान हुँदै हाम्रा जिजुबाजे जीवन यापनका क्रममा भोजपुर जिल्लाको दाँवा बजारमा आईपुग्नु भएको तथ्य कथा हाम्रा बाजेले हामीलाई एकादेशमा… को शैलीमा सुनाउनु हुन्थ्यो । बाजेकै पालादेखि हामी पर्वते सँस्कार अझ मतवाली सँस्कारमा समाविष्ट थियौँ । अब बाजेकै पालादेखि नबोलिएको नेवारी भाषालाई मेरो मातृभाषा भनेर आडम्बर पालिरहनुको पनि के अर्थ रह्यो र ? माझ किराँतको स्कूले वयस्क जीवनमा 'कोक्चासी बानाने है जेठा' (राई भाषामा खाना 'खान आईज है जेठा') भनेर साथीको आमाले स्नेहपुर्वक खाना खुवाएरमात्र पठाउने गरेको त्यो मीठो क्षण आज करीब २० वर्ष पछाडि सम्झँदापनि म रोमाञ्चित हुने गर्छु । भौतिक सुख सुविधाको यो भवसागरमा हामी त्यहि स्नेह, ममता, आत्मियता र भाईचाराको अभावमा छटपटाई रहेका छौं । तर हिजो आज म सुन्दैछु पढदै छुँ हाम्रा गाउँघर र बस्तिहरु हिजोको जस्ता रहेनन् । हामी विचारका हिसावले क्षेत्र तथा वर्गका हिसाबले अनि रङ्ग र जातिका हिसाबले विभाजित भएका छौ । बहुलवादी सामाजिक र राजनैतिक सँरचनामा स्वस्थ वैचारिक विभाजन हुनसक्छ । अर्ध सामन्ती सँस्कार भएको हाम्रो राष्ट्र् र समाजमा वर्गीय चरित्र साह्रै पुरातनिक सँरचना हो तर जातिय व्दन्द र विभाजन कसको र कुन वर्गको स्वार्थकोलागी हो त्यो बुझ्न र ठम्याउन अब हामीले ढिलो गर्नु हुँदैन ।

ईतिहासको प्रत्येक त्रासद मोडमा कहिँ न कहिँ अवसर र सम्भावनाहरु लुकेर रहेका हुन्छन् । त्यो अवसर र सम्भावनालाई उजागर गर्न सचेत नागरिक समाज र अगुवाई गर्ने दूरगामी दृष्टि भएका निस्वार्थी राजनेताहरुको आवश्यकता पर्दछ । हामी भोली त्यहि राष्ट्र् या भूमीमा नरहौंला तर नेपाली जाति भएर आफ्नो कत्र्तव्यमात्र पनि ईमान्दारीपुर्वक निर्वाह गर्न सक्यौं भने हाम्रो राष्ट्र्ले हाम्रो जातिप्रति गर्व गरि नै रहने छ । हामी नेपाली राजनैतिक कालखण्डको अत्यन्त जटील तर भरपुर सम्भावनायुक्त वर्तमानमा उभिएका छौ । निरङ्कुश राजतन्त्र र सामन्तवादी वर्गीय उत्पीडनबाट प्रताडित नेपाली जनता राजनैतिक र सामाजिक उन्मुक्तिकालागी आन्दोलित भएका छन् । उधारो गणतन्त्र सँघिय शासन प्रणाली विधायिकाव्दारा घोषणा गरिएको छ तर जन-अनुमोदन हुन बाँकि छ । हाम्रो मातृभूमि अतिवादी बन्दुकेहरुबाट प्रताडित छ । हामी जानी नजानी नयाँ नयाँ युद्ध सरदारहरु जन्माउँदै छौं । बन्दुक र गोला बारुदलाई शक्तिको रुपमा परिभाषित गर्ने कुचेष्टा भई रहेको छ । दण्डहिनता हिजोका दिनहरुमा जस्तै मौलाएको छ । गोईत, ज्वाला सिह, टाईगर र कोब्रा जस्ता सशस्त्र दलहरु जन्मदो छन् । यस्ता क्रियाकलापहरुलाई समयमै कानुनी राज्यको दायराभित्र ल्याएर कारवाही गर्ने साहस भोली बन्ने नयाँ सरकारले पनि गरेन भने आतङ्कवाद र विखण्डनको अभिलाषा बोकेर नयाँ बन्दुके सँगठनहरु जन्मने छन् । विश्वभूमण्डलिकरणका प्रभावका कारण प्रत्येक सँघ सँगठन र समुदाय अत्यन्त चलायमान अवस्थामा छन् । हामी विश्वको जुनसुकै कुनामा रहेपनि वर्तमान नेपाली राजनैतिक र सामाजिक घटनाक्रमबाट टाढा र निरपेक्ष रहनै सक्दैनौ । यस अर्थमा अहिलेको हाम्रो एकमात्र सरोकार र एजेण्डा भनेको आगामी चैत्र २८ गते हुने ऐतिहासिक सँविधान सभाको निर्वाचन नै हो । सबै खाले प्रतिगामी र प्रतिक्रियावादीहरुको साँठगाँठ र विरोधका वावजुदपनि शान्तिकामी तथा स्वाधिनताप्रेमी नेपाली जनताको चाहना र बलका कारण सँविधान सभाको निर्वाचन निश्चित प्रायः छ । ईतिहासको लामो कालखण्डमा नेपाली जनताले गरेका विभिन्न चरणका आन्दोलनहरुलाई हामीले प्रसव वेदनाका रुपमामात्र परिभाषित गर्नुपर्दछ । यो लामो वेदनापछि अब राजनैतिक ईतिहासमा २३९ वर्ष लामो सामन्तवादी निरङ्कुश राजतन्त्रको पटाक्षेप हुनेछ । अबको १३ दिनपछि हुने सँविधान सभाको चुनावमा मतदान गर्न म कल्पनामा मेरो जन्मथलो भोजपुर पुगेको छुँ । फ्ल्यास ब्याकमा उहि मेरो प्रिय साथी धनपालकी आमाको 'कोक्चासी वानाने है जेठा' भन्ने प्रिय वचन प्रतिध्वनित भई रहेको छ । यो आलेख तयार पारिरहँदा म सँघिय लोकतान्त्रिक गणतन्त्र नेपालको परिकल्पनामा निर्लिप्त भएको छुँ । कुन दलले कति सिट जित्छ भन्ने सवाललाई गौण मान्दै लोकतान्त्रिक गणतान्त्रिकका पक्षधरहरुलाई जिताउनु पर्ने चुनाव हो यो । अबको २४ दिनमा विधिवतरुपमा सँविधान सभाका सभासदहरुले अत्याधिक बहुमतले सँघिय लोकतान्त्रिक गणतन्त्र नेपाल को उधारो घोषणालाई अनुमोदन गर्नेछ । शायद त्यो ऐतिहासिक दिन पनि शुक्रबार नै पर्ने छ । स्मरण रहोस् तत्कालिन मन्त्रीपरिषदका स्वघोषित अध्यक्ष ज्ञानेन्द्र शाहले प्रत्येक जनविरोधि कर्म गर्न शुक्रबार नै रोजेका थिए । अब उनको त्यहि प्रिय दिनमै २३९ वर्षिय शाह वँशीय विरासतको वैधानिक अन्त्येष्टि हुने छ । शहरभरि खुशीयाली छाएको छ । यत्रतत्र मानिसको उल्लासमय चहलपहल छ । टुँडिखेलमा सँयुक्त रुपमा घोषणा सभा आयोजना गरिएको छ । अब जनसभालाई सम्बोधन गर्ने पालो हाम्रा वयोवृद्ध सम्माननीय गणतन्त्रवादी प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोईरालाज्यूको छ । म अनायास र अचानक २०४६ सालको घोषणा सभामा फर्कन्छु र त्रसित हुन्छु कतै यसपाली पनि 'यो जित पँचकोपनि हो र राजाकोपनि हो' त भन्नुहुने हैन ? यो मनोगत त्रासबाट उन्मुक्ति पाउन म भाषण नै नसुनी सरासर अगाडि बढ्छु । मेरो ठिक अगाडि चट्टान जस्तै अविचलित विचार भएका सम्पुर्ण नेपालीका महान नेता गणेशमान सिहँको १२ फिट अग्लो शालिक ठिङ्ग उभिएको छ म सहृदय ससम्मान सलाम गर्छु र मनमनै भन्छु 'आज तपाई र मनमोहन अधिकारीको सपना पुरा भएको छ । सँयुक्त आन्दोलन मार्फत सँघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको छ ।

Source: http://khasskhass.com/new/main.php?action=view_detail&id=62


Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.