पश्चगामी बाहेक लोकतान्त्रिक पक्षधरहरुबीच मोर्चा जरुरी

संविधानसभा चुनावमा स्वतस्फूर्तरुपमा जनताले दिएको सम्मान र जनताको अभिमतलाई हामीले सम्मान गर्नैपर्छ । नेपाली जनताको जागरुकतामात्र होइन, दुरदर्शिता र चनाखोपन पनि मैले पाएँ । मानिसलाई एकपछि अर्को गर्दै, दललाई एकपछि अर्को गर्दै दण्ड दिइरहेको अवस्था छ । अहिले त्यत्रो ठूलो दल एमाओवादीको हैसियत निकै तल झरेको छ । विशेषगरी प्रचण्ड र केही नेताहरुले गरेको गलत रवैका कारण यति सानो समयमा उहाँहरुलाई दण्ड मिलेको छ ।

त्यसको अर्थ के हो जनताले अब कसैलाई पनि बाँकी राख्दैन । हिजो ज्ञानेन्द्रलाई समाप्त पार्ने जनताले गल्ती गरेमा हामीलाई पनि बाँकी राख्दैनन् भन्ने चेतना एमाओवादीका अध्यक्ष प्रचण्ड र अन्य नेताहरुलाई किन भएन ? यो कुरा आश्चर्यचनक छ । त्यसो भन्दैमा आकाशै खस्यो भन्ने चाँही होइन । निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि एमाओवादीले मतगणनाबाट निस्केर जाने निर्णय गर्नु उहाँहरुको अदुरदर्शिता हो । प्रचण्डमा मान्छेहरुले भरोसा गरेका थिए । गिरिजाप्रसाद कोइरालापछि अब कोही ज्यूदो नेता छ भने त्यो प्रचण्ड हो भनेर खुलेर हामीले पनि भन्ने गरेका हौं । त्यो शाख ह्वात्तै गिरेको अवस्था छ । मैले उहाँजस्तो नेताबाट धेरै ठूलो परिमार्जनको आशा गरेको थिएँ । उहाँले सबैभन्दा बढी दुरदर्शिता देखाउनुपर्ने थियो, तर देखाउन सक्नुभएन ।

पछिल्लो चरणमा नारायणकाजी श्रेष्ठले गर्नुभएको क्याल्कुलेशन, सुरुदेखिको उहाँको अडान सबै सत्य सावित भएर गयो । सबैसँग बृहत मोर्चा कायम गरिनुपर्ने कुरा, चुनावमा गइसकेपछि भाग्नुहुँदैन भन्ने कुरादेखि प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउनेमा पनि उहाँको स्पष्ट विमती रहेको थियो । अहिले परिमार्जित रुपमा आएर बाबुराम भट्टराईलाई जोड्दा गजवको समिकरण माओवादीभित्र देखिन्छ । बाबुराम भट्टराई यथास्थीतिवादको विपक्षमा सधै हुनुहुन्छ । एउटा प्रगतिशिल पक्ष र माओवादीभित्रको एउटा लोकतान्त्रिक धार हो उहाँ जुनसुकै एजेण्डा र जहिलेपनि । भारतमा पढेर आउनुभएको नाताले उहाँलाई भारतपरस्त भएको आरोप पनि लाग्ने गरेको छ । तर गाली र आरोपका लागि त जसले जे भनेपनि हुन्छ । तर उहाँजस्तो बहुआयामिक व्यक्तित्वलाई त्यसमा मात्र मूल्यांकन गरिनु हुँदैन । बाबुराम भट्टराईप्रति नेपाली जनता र राष्ट्रको ठूलो आशा थियो । सबैभन्दा आशावाद जागेको र नेपाली जनताले भरोसा गरेको दिन उहाँ प्रधानमन्त्री हुनुभएको बखत हो । अर्थमन्त्री हुँदा उहाँले गर्नुभएको पुष्टीले गर्दा उच्च रुपमा जनताको आशा बढेको हो । तर त्यसो हुन नसकेको अवस्था आयो । उहाँको विद्वताको क्षयिकरण भयो । उहाँलाई अप्ठ्यारो पारियो । एमाओवादीभित्र पनि एउटा यथास्थीतिवाद थियो, जो लोकतान्त्रिक अग्रगमनको पक्षमा थिएन । ति मान्छेहरुले नै बाबुराम भट्टराईलाई असफल पार्न खोजेका हुन् । उपाध्यक्ष पदबाट राजिनामा दिइसक्नुभएको नियत र नियतीलाई उजागर गर्ने कोट्याउने हो भने उहाँ बृहत लोकतान्त्रिक मोर्चाको पक्षमा हुनुहुन्छ । जडशुत्रवादमा निरन्तर लागेर बन्दुकको नालबाट सत्ता हत्याउन सकिन्छ भने एमाओवादीभित्र एकाथरीको दुस्वप्न पनि छ । उपाध्यक्षबाट राजिनामा दिएर बाबुरामले उनीहरुका विरुद्धमा प्रहार र अरुदलका पनि प्रगतिशिल , लोकतान्त्रिक , धर्मनिरपेक्षता पक्षधर, संघीयता पक्षधरको ब्यापक गोलबन्दीको नेतृत्व लिन कस्सिनुभएको आभास मिलेको थियो । पदलोलुप नभएको कारणले उहाँले उपाध्यक्ष पद छोडिसकेपछि नेतृत्वको एउटा सम्भावना थियो । यसबाट उहाँले ब्यापक लोकतान्त्रिक मोर्चाको स्वरुप र सपना देख्नुभएको पनि स्पष्ट हुन्छ ।

जब जब मुलुक द्वन्दमा जान्छ वा गलत बाटोमा जान्छ, त्यतीबेला पश्चगामी सोंच भएका मान्छेले राज्य गर्न थाल्छन् । कमल थापाहरु एउटा भोट गाईलाई , एउटा भोट दाईलाई भनेर धर्मको नाममा राजनीति भइरहेको छ, त्यो सबैभन्दा डरलाग्दो खेल रहेको छ । ती सबैलाई परास्त गर्ने हो भने बाबुराम पक्षधरहरुको ब्यापक मोर्चा र गोलबन्द हुन जरुरी छ । एमालेमा पनि स्पष्ट रुपमा अग्रगामी सोंच राख्नेहरुको मोर्चा छ । विगतमा त नेपाली काँग्रेस र एमाले लोकतान्त्रिक वा गणतान्त्रिक थिएनन् । केही वर्ष अगाडिको परिघटनामात्र हेर्दा पनि राजेन्द्र राईले गगन र गुरुहरुसँग मिलेर गणतन्त्र चाहिन्छ भन्दा नेकपा एमालेले कारवाही गर्न लागेको थियो । तर गणतान्त्रिक धारमा थुप्रै पुराना यथास्थीतिवादी नेताहरु नभएको स्थीति थियो । तर परिवेश , प्रसंग र समयले ज्वारभाटा पैदा गरेपछि मुलुक गणतान्त्रिक विन्दुमा गयो ।

ज्ञानेन्द्रको दुशाहस र रणनीतिक दुश्परिणामका कारणले उनी असफल भए । राजतन्त्रको समुल नष्ट नै लोकतान्त्रिक पद्धतीको पहिलो चरण हो भन्ने मान्यता राख्ने मलाई पनि नेपालमा यति छिटो राजतन्त्र सकिएला र गणतन्त्र आउला भन्ने लागेको थिएन । तर नेपालमा राजतन्त्र समाप्त भएको दिन मैले ठूलो खुशी महसुस गरेको थिएँ । त्यो लडाईमा हामी न्युयोर्कमा पनि अरु दलका मान्छेहरुसँग मिलेर सहभागी भएको इतिहास छ । त्यो परिघटनालाई हेर्दा राजतन्त्र सकिएपछि गणतन्त्र आउँदा नेताहरुले जनताको अपेक्षा यति ठूलो बनाइदिए कि जनतालाई भूलभूलैमा राखेर फेरी दुनो सोझाउने अवस्था आयो । राजतन्त्रको समुल नष्ट भनेको लोकतान्त्रिक र गणतान्त्रिक पद्धतीमा जानका लागि प्रारम्भिक र पहिलो शर्तमात्र हो । अहिलेसम्म त्योमात्र पूरा भएको छ ।

अहिलेको संक्रमणकालिन अवस्थामा सबैभन्दा बढी सचेत हुने भनेकै कसरी सदनभित्र र बाहिर सहमति कायम गरेर जान सकिन्छ भन्नेमा नै हो । कसैलाई पनि बाइपास गरेर जान सकिदैन । तर यसो भन्दैमा हिजोमा रछ्यानमा फालिएकाहरुलाई खोपीमा राखेर पूजा गरिएको थियो भन्ने भ्रम हुनुहुँदैन । र फेरी पूज्ने दिन आउनेछ भनेर शंखघण्ट बजाएर प्राथना गर्दै राजतन्त्र फर्काउन चाहनेहरुको डफ्फा पनि ठूलै छ । त्यसैले पश्चगामीसोंच भएका मान्छेहरु बाहेक बाँकी लोकतान्त्रिक पक्षधरहरुबीच पार्टीभित्र र बाहिरबाट ब्यापक मोर्चा कायम हुन जरुरी छ । संविधान निर्माणका लागि समयसीमा बनाउनैपर्छ । अन्यथा राजनीतिक खेल भइरहन्छ । प्रधानमन्त्रीको खेलमात्रै चलिरहन्छ ।

पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री र राष्ट्रपति बन्ने खेलमात्र खेल्ने हो भने संविधान बन्दैन । संविधानसभाको निर्वाचन संविधान बनाउनका लागि हो भनेर नबुझेको अवस्थामा पीडा र प्रताडना जनताले भोग्नुपरिरहेको छ । अहिलेको जनताको जागरुकताबाट म एकदमै आशावादी छु । किनभने असल मान्छेहरुलाई छानीछानी ल्याइएको छ । कतिपयलाई हिजो दण्ड दिइसकेपछि उसले जनतासामु माफी मागेपछि जिताएर ल्याएको अवस्था पनि छ । त्यसैले यथास्थीतिवादीहरुलाई फेरी ल्याइयो भनेर बुझ्नुभन्दा पनि परिमार्जित भएको अवस्थामा जनताले क्षमा दिन्छन् भन्ने तरिकाले बुझ्नुपर्छ । अब अग्रगमनमा विश्वास राख्ने कसैलाई पनि बाइपास वा निशेष गरेर अवको समाधान छैन । सहमतिय आधारबाटै समाधान हुन्छ । सहमतिय आधार तय गर्नका लागि भइरहेका वार्ताहरुलाई अन्यथा लिनु हुँदैन । सहमतिय आधारमा संविधान जारी हुनेमा म विश्वस्त छु ।

(प्रगतिशिल संचारकर्मी तथा अधिकारकर्मी श्रेष्ठसँगको कुराकानीमा आधारित । )

वर्ष २ अंक ४६ पूर्णाङ्क ९९, बिहीवार, मंसिर पुस ४–१०, २०७० मा प्रकाशित ।

Source: http://khasokhas.com/news/155#sthash.PGgdWk2V.dpuf

#ca #election #nepal

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.