"समुदायसंग सम्प्रेषण": न्यू हेम्पसायर यात्राबाट फर्के पछि!

सम्प्रेषण टिम यसपाली अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू हेम्पसायर च्याप्टरको औपचारिक निमन्त्रणा र सम्पुर्ण न्यु हेम्पसायरबासी नेपालीहरुको आतिथ्य ग्रहण गरि फर्किएको छl मेरा मित्र अग्नि पराजुली, ईश्वरी भट्ट, सुरेन्द्र देब आचार्यहरुले बस्ति सानै भए पनि च्याप्टरलाई बलियो बनाउनु भएको रहेछ, महासचिबले सैतिस जना आजीवन सदस्य पुगेको जानकारी गराउनु भएपछी यो कुराको स्वतः पुष्टि भयोl

Shailesh Shrestha receiving INLS award from Senator David Waters in New Hempshire on July 16, 2014. Photo: Shyam Shrestha

न्यू हेम्पसायरबाट फर्किए पछि मलाई यस्तो लाग्यो, थोरै भईन्जेल राम्ररी मिलेर बस्न जान्ने जाती रहेछौं हामी नेपालीl हजार जना भन्दा मुस्किलले अलिकति बढी आवादी रहेको न्यु हेम्पसायरका प्रवासी नेपालीहरु डाहा लाग्दो गरि मिलेर बसेका रहेछनl त्यहाँ पुगेको या बसेको अड्चालिस घण्टामा थुप्रै आतिथ्य ग्रहण गर्दै टेलिभिजन कार्यक्रम सम्प्रेषणका लागि सम्प्रेषणीय कार्यक्रम छायांकन गर्न भ्याईयोl

होटलमा पुगेको केहि घण्टामै निजामती सेवामा सत्ताईस बर्ष अनवरत सेवा गर्नु भएका राष्ट्र सेवक, नेपालका पुर्व मुख्य सचिब तथा कवि डा. बिमल कोइरालाज्युसंग सम्प्रेषणका लागि वार्ता गर्ने जोहो उक्त राज्यका मृदुभाषी सहयोगी व्यक्तित्व उमेश कोइरालाले मिलाईदिनु भयोl अर्को दिन शुभ बिहानीको साईतमा हुकसेटको पारिलो मैदान र रापिलो मौसममा सम्प्रेषणकै लागि अर्को राउण्ड टेबल आत्मीय वार्तालाप गर्ने अवसत पाईयो जहाँ उक्त समुदायका सक्रिय सदश्यहरु रबिन थापा, लोक लामा, हितमान गुरुङ, सुनु गुरुङ, शम्भु गुरुङ र छत्र गुरुङसंग जीवन, जिविका र जिजिविषाका बारेमा कुराकानी गर्ने अवसर प्राप्त भयोl राजनीतिको कुरा त सबैले गर्नु भो तर नेपाली पाराको गुट र दलको राजनीति भन्दा उहाँहरु अलि माथि उठी सक्नु भएको रहेछ, भर्खर उमेश कोइराला, हितमान गुरुङ, लोक लामा, सोम गुरुङ, सुनु गुरुङ, रबिन थापाजीहरु मिलेर नेपाली अमेरिकी डेमोक्रेटिक फोरमको स्थापना गर्नुभएको रहेछl अब यो कर्मभूमिमा राजनीतिनै गर्ने भए अमेरिकी मूलधारको राजनीति गर्नु पर्छ भन्ने चेतना यी पारिला वस्तीहरुमा आईसकेको रहेछl

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू हेम्पसायर च्याप्टरले आयोजना गरेको भानु भक्त आचार्यको द्वीशतवार्षिकी कार्यक्रम अर्को अद्वितीय नमुना थियो जहाँ प्राध्यापक ठाकुर प्रसाद पराजुली, कवि तथा पुर्व मुख्य सचिव बिमल कोइराला र सिनेटर डेभिड वाटर्सको गरिमामय उपस्थिति थियोl उताका हाम्रा मान्छे मात्र होईनन यताका मान्छे पनि अति सरल, सर्वसुलभ र आत्मीय हुँदारहेछनl समुदायमा आधारित सम्प्रेषण निर्माण गर्ने क्रममा सिनेटर वाटर्ससंग पनि छोटो तर आत्मीय कुराकानी गर्ने अवसर मिलाईदिए साथीभाईहरुले, वार्ताभरी उनले नेपाली जाती प्रति आफ्नो र राज्यको तर्फबाट कृतज्ञता व्यक्त गरेl उनि भनि रहेका थिए नेपालीहरु परिश्रमी मात्र होईन स्नेही र ममतामयी पनि छन, उनि उनको राज्यमा ठुलो संख्यामा रहेको शारीरिक र मानसिकरुपमा अशक्त नागरिकहरुलाई नेपाली जातीले पुर्याएको हेरचार र सेवाभावको मुक्तकण्ठले प्रसंशा गरिरहेका थिएl

छुट्टिने बेलामा उनले आफ्नो ब्यबसायिक कार्ड दिए र पुनः न्यु हेम्पसायर आउने निम्ता दिएl यसो के छुट्न मात्र लागेका थियौं उनले हात हल्लाएर मलाई बोलाए अनि उनले दिएको कार्ड माग्दै त्यसमा आफ्नो मोबाईल नम्बर लेख्दै भने "न्युयोर्क पुगेपछि मलाई फोन गर है!"

मैले बुझ्न सकिन यो सानो राज्य या सहरमा बस्नेहरुको "नेचर" हो कि सिनेटर डेभिड वाटर्सको "ग्रेटनेस"(?)

#newhempshire #shailesh #shrestha #inls

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.