अमेरिकि आप्रवासी सुधार बिधेयक अनुदारवादी रिपब्लिकनहरुले पास गर्न देलान्?

विश्वको सर्बशक्तिमान राश्ट्र अमेरिका जब जब दक्षिणपन्थी राज्य व्यवस्थाको सेरोफेरोमा अनुदारवादीहरूको बोलवालाबाट पुरातानिक हिसाबले चल्ने गर्दछ त्यतिबेला अमेरिकामा आम जनचाहनाअनुसारको परिवर्तन ल्याउन अत्यन्त कठिन हुने गर्दछl असल नियतले काम गर्न चाहने लोकप्रिय राष्ट्रपतिहरुलाई यहि यथास्थितिवादी पुरातानिक संजालले अघि बढ्न नदिएको उदाहरण हेर्न धेरै अगाडी जानै पर्दैनl यसको पछिल्लो उदाहरण राष्ट्रपति ओबामाले लागू गर्न खोजेको आप्रवासी सुधार बिधेयकलाई तुहाउने अनुदारवादी रिपब्लिकनहरुको कसरत र राष्ट्रपति ओबामालाई महाभियोग लगाउने (इम्पिचमेन्ट) को धम्कीलाई लिन सकिन्छ। झन्डै सवा दुई करोड अप्रवासीहरुलाई बैधानिकता दिएर उनीहरूले डर र त्रासको छायाँमा बाँच्न परेको बर्तमान बिबसताबाट मुक्ति दिलाउनु आप्रवासीहरूकै रगत, पसिना र आवादीबाट बनेको आजको अमेरिकाको कर्तब्य होईन ?

Photo by Shailesh Shrestha.

बिगतमा बद्ख्याई

जब राष्ट्रपति बील क्लिन्टन राष्ट्रलाई आर्थिकरुपले सम्बृद्ध बनाएका कारण लोकप्रियताको सिंढी उक्लिन थाले अनि एक पछि अर्को गर्दै उदार र प्रगतिशील मार्ग रोजे l रिपब्लिकनहरुले यहि इम्पिचमेन्टको अस्त्र रोजे र मोनिका लुईन्सकी काण्डलाई उरालेर उनको मानमर्दन गर्न अघि बढेl त्यसको एउटा मात्र अन्तर्निहित स्वार्थ थियो- सामाजिक मुद्धाहरुमा मुस्किलले एक कदम बढेको अमेरिकालाई अर्को दुई कदम पछाडी फर्काउनुl त्यसपछि रिपब्लिकनहरुको ग्राईण्ड डिजाईनमा अमेरिका पुनः दक्षिणपन्थीहरुकै कब्जामा फर्क्यो, त्यो लामो काल खण्डले अमेरिकालाई आर्थिकरुपमा धरासायी बनायोl "गन" र "गड" को साहाराले राज्य गरिरहेको पुरातनवादी रिपब्लिकनहरु बन्दुक र गोला बारुद बेचेर धनि भए तर देशलाई आर्थिक मन्दीमा निरन्तर धकेली रहेl रिपब्लिकन राष्ट्रपति जर्ज बुसको दुई कार्यकालमा भएको इराक र अफगानस्थान जस्ता दुईटा ठुला युद्धका कारणले भएको आर्थिक मन्दीको आरोप वर्तमान राष्ट्रपति बाराक ओबामाले खप्नु पर्योl अहिले मुस्किलले देशको आर्थिक स्थितिमा सुधारको संकेत देखापर्न थालेको छ तर रिपब्लिकनहरु बिग्रहको बहाना खोज्दैछ किनकी यिनीहरुलाई अप्ठेरो र बिग्रहमा लाभ लिने बनि परिसकेको छl

बर्तमानको अनुदारवादी चलखेल

अमेरिकी सदनको वर्तमान परिदृश्य यस्तो छ- दुवै सदनका प्रतिनिधिहरु अबको तीन दिनपछि रिसेस (घर बिदा) मा जाने छन् तर इतिहासमा सबभन्दा अलोकप्रिय रहेको रिपब्लिकनहरुको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ र तिनका अनुदारवादी दक्षिणपन्थी सदस्यहरु प्राय: सबै जनपक्षीय बिधेयकहरुलाई बृहद छलफलमै ल्याउनबाट रोकिरहेका छन्l समाधान होइन सधै ब्यबधान रोज्ने टि पार्टी समर्थक अनुदारवादी रिपब्लिकनहरुको कोपभाजनको सिकारमा परेको छ सबभन्दा चर्चा र बहुमत अमेरिकी जनताको समर्थन रहेको बील बृहद आप्रवासी सुधार बिधेयक, जुन बिधेयक गत जुन महिनामा माथिल्लो सदन सिनेटबाट प्रचण्ड बहुमतले पास भएपनि रिपब्लिकनहरुले तल्लो सदनमा पेस गर्न र मतदान हुनबाट निरन्तर रोकिरहेको छl

प्रजातन्त्रको दुहाई दिएर नथाक्ने र संसारलाई प्रजातन्त्रको पाठ पढाउन रुचाउने अमेरिकीहरु अहिले आफ्नै सदनमा भएको यो हर्कत देखेर लज्जाबोध गरिरहेको छl नियमत यो आप्रवासी बिधेयक कंग्रेसमा मतदानकोलागि अघिल्लै बर्ष आउनुपर्ने थियो तर सभामुख जन बेह्नरले बील पास हुनकोलागि चाहिने गणपुरक संख्या नपुग्ने बहाना अगाडी ल्याएर निरन्तर रोकिरहेका छन् जुन कदम आफैमा अबैधानिक हो, परिणाम जे आएपनि "अप अर डाउन" भोटकोलागि सदनमा मतदानकोलागि ल्याउनु पर्ने नियम र प्रचलन छl अहिले प्राय: राज्यहरुमा अन्तर पार्टी प्राईमरी इलेक्सन पनि समाप्त भईसकेको छ, केहि अपबाद बाहेक प्राय: अधिकांश निर्वाचन क्षेत्रहरुमा रिपब्लिकन पार्टीको उदारबादी संस्थापन पक्षले नै जीत हासिल गरेको छ, यस अर्थमा मिडियाले हल्ला या चर्चा गरे जस्तो अतिवादी अनुदार टी पार्टी समर्थक रिपब्लिकनहरुको बलियो स्थिति छैनl यसले पनि अमेरिकी समाज क्रमश: उदारबादतर्फ उन्मुख भएको संकेत गर्दछl अब तल्लो सदनको यहि इक्वेजनमा के हुन सक्छ त यो प्रस्तावित अध्यागमन बीलको भबिष्य? के बाँकि तीन दिनमा कुनै राजनैतिक चमत्कार हुन्छ त?

Photo by Shailesh Shrestha.

यो बिषयमा मैले फेसबुकमा र खसोखास साप्ताहिकमा गरि करिब आठ वटा आलेख सार्वजनिक गरिसकेको छुl मेरो तर्क, विश्लेषण र जिद्दी छ- अबको अन्तिम अस्त्र या मार्ग भनेको राष्ट्रपतिमा निहित एक्जीकयुटिभ अर्डर (कार्यकारी आदेश) नै हो, जसरी देश निकालासम्म पर्न सक्ने कागजपत्रबिहिन नावालकहरुलाई उन्मुक्ति र मानवीय न्याय दिने अभिप्रायले राष्ट्रपति ओबामाले डिफर्ड एक्सन (डाका) जारी गरेर मानवीय निकास दिए, त्यस्तै सार र स्वरुपको अर्को डिफर्ड एक्सन जारी गर्न राष्ट्रपति ओबामा बाध्य हुनेछन्, मेरो निजि विश्लेषणमा त्यो दिन अत्यन्त नजिक आईपुगेको छl पछिल्लो घटनाक्रमहरुले त्यो सम्भावनालाई अझ नजिक ल्याएको छ, रिपब्लिकन सहकर्मीहरुको नियत र नीति बुझेका ईलिनोयस राज्यका डेमोक्राटिक कांग्रेसम्यान तथा अध्यागमन बिधेयकका च्याम्पियन लुईस गुटिएरेज़ले सदनमै आफ्ना प्रतिपक्षीहरुलाई रेड कार्ड देखाएर मैदानबाट आउट गरेपछि यो बिषयले नयाँ दिशा र मार्ग लिएको छ l त्यस अघिसम्म रिपब्लिकनहरुले डेमोक्रेट्सहरुलाई थाङ्ग्नामा सुताएका थिए भने लाचार डेमोक्रेट्सहरु "झर्ला र खाउँला" भनेर पर्खेर या आश गरेर बसेका थिएl

अब के हुन सक्छ?

राष्ट्रपति ओबामाले आबश्यक तयारीकालागि आफ्ना होमल्याण्ड सेक्रेटरी जे जोन्शन र अन्य सम्बन्धित निकायहरुलाई आवश्यक निर्देशन दिईसकेको खबर केहि मेडियाहरुले भर्खर बाहिर ल्याएको छl एशोशिएट प्रेसले भर्खर बाहिर ल्याएको समाचारअनुसार कांग्रेसम्यान गुटिएरेज़ले राष्ट्रपति ओबामालाई अघिल्लो हप्ता भेटेका छन् भने उनले उक्त कुराको पुष्टि अहिले भर्खर एमएसएनबिसीका कार्यक्रम प्रस्तोता क्रिस हेजलाई बताएका छन्l अब रिपब्लिकनहरुको नाङ्ग्लो ठट्टाएर हात्ती तर्साउने ओबामा इम्पिचमेन्टको भुत्ते अस्त्र निकम्बा हुने प्राय: निश्चित छ भने यो बर्षको मध्याबधि निर्वाचन अघि या यसको आसपासमा राष्ट्रपति ओबामाले आफुमा अन्तर्निहित कार्यकारी अधिकार (एक्जीकयुटिभ अर्डर) प्रयोग गर्दै डर र त्रासको छायाँमा बाँच्न बिबस भएका र बनाईएका एघार मिलियनभन्दा बढी अप्रवासीहरुलाई बैधानिक बनाएर कमसेकम काम गर्न पाउने (वर्क परमिट) सम्मको स्टाटस दिने सम्भावना अधिक रहेको छl

यस्तो संकेत राष्ट्रपति ओबामाले आफ्नो "स्टेट अफ द युनियन" को सम्बोधनमा दिईसकेका थिएl उनले त्यसबेला आफुसंग "कलम" र "फोन" आफ्नो शक्ति र श्रोत भएको कुरा बताएका थिए, यानेकि कलम जसको सहाराले बिधेयकमा हस्ताक्षर गरेर कानून बन्दछ भने "फोन" को माध्यमबाट आम जनतालाई सुचित गरिने छl अब यसो गर्दा ओबामा र उनको पार्टीलाई दुवै हातमा लड्डु पर्ने सम्भावना रहन्छl त्यो भनेको आगामी डेमोक्राटिक पार्टीकी राष्ट्रपतिकोरुपमा हिलारी रोधाम क्लिन्टनको विजयको सुनिश्चितता र गुमेको तल्लो सदनमा आफ्नो पार्टीको पुनः कब्जाl अब नुनको सोझो गर्ने पालो राष्ट्रपति ओबामाको आएको छ, उनले पहिलो कार्यकाल देखिनै अप्रवासीहरुको ऋण खाएका छन, त्यो चुक्ता गर्ने स्वर्णिम अवसर हुनेछl यो क्षण राष्ट्रपति ओबामाकोलागिl सन् २००८ को राष्ट्रपतीय निर्वाचनदेखि निरन्तर राष्ट्रपति ओबामा र उनको पार्टीको पक्षमा "यस वी क्यान" भन्दै आएका सारा श्रमजीवी आप्रवासीहरुले अब एउटै स्वर र लयमा भन्ने छन्- "यस यू डीड" !

#usa #america #immigration #bill

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.