आजको आवश्यक्ता: पुरानालाई सम्मान अनि नयाँलाई नेतृत्व
न्यू योर्कमा खोलिएका सात दर्जन संघ-संगठनहरु मध्य अधिकांशमा पुराना मान्छेहरुको हालीमुहाली र अधिपत्य रहेको छl टर्म लिमिटको प्राबधान छैन, हिसाब किताब चुस्त दुरुस्त छैन, सामन्ती शैलीमा तीन चार कार्यकाल अध्यक्ष बनेर बसेका छन, आफुले पद छाड्नै परे पनि आफ्ना आसेपासे हनुमान (जो "हुन्छ हजुर" र "हवस हजुर" मात्र भन्छ) लाई पद हस्तान्तरण गरेर आफु सल्लाहकार बस्ने प्रचलन छ, ब्यबसायिक संगठन भनिए पनि त्यसको कुनै मापदण्ड छैनl तर यो तस्विरमा देखिएको जस्तो र सामाजिक अधिकारकर्मी संस्था "अधिकार" ले जस्तै शिक्षित तन्नेरी नयाँ पुस्तालाई संगठनमा आमन्त्रण, स्वागत र सम्मान गर्न अब हामीले कति पनि ढिला गर्नु हुन्नl

तस्विर श्रोत: अशोक पन्त (नेपालफोटोन्युज डट कम)
अधिकांश संगठनको नेतृत्व शैली "हुकुमी" या "रकमी" पाराको छ, उनीहरु कहाँबाट र कसबाट संचालित छन आम मानिसलाई थाहै हुँदैन, उनीहरु "स्वचालित" हैन "संचालित" छनl सहर या राज्यको कानुन अनुसार गैर नाफामुलक संगठन 501(C) 3 को हैसियतमा दर्ता भए पनि ढंग, मर्यादा र कानुनसम्मत तवरले उक्त कानुनी प्राबधानको परिपालन गरिएको छैनl सायद त्यसैले होला यहीं जन्मी, हुर्की, बढी, पढी ब्यबसायिक बनेका हाम्रा नयाँ शिक्षित पुस्तालाई हामीले कहिले आकर्षित गर्न सकेनौंl
न्यू योर्क सहरमा मात्र हामी चालिस हजार नेपाली छौं भनेर हल्ला गर्छौं तर त्यसको सकारात्मक उपस्थिति र परिणती न समाजमा छ न त अमेरिकी मुलधारको राजनीतिमाl हामी आफ्नो "कम्फर्ट जोन" बाट एक बित्ता पनि बाहिर जान सकेका छैनौंl अधिनायकबादी शैलीमा एक छत्र राज गरिरहेका पुरानाहरुलाई स-सम्मान पाखा लगाएर नयाँ शिक्षित पुस्तालाई प्रवासी नेपाली समाजको नेतृत्वमा नल्याएसम्म हाम्रो सामाजिक कायापलट हुँदैनl