अमेरिकी अध्यागमन सुधार बिधेयक: "पोलिसी" कि "पोलिटिक्स"?

अमेरिकालाई सपना र सम्भावनाहरुको देश र अझ टाढा बस्नेहरुले त भूस्वर्ग भनेर परिभाषित गर्ने गरेका छन तर यथार्थमा त्यो स्वप्निल सपनाहरु भित्रको बिपना र यथार्थहरु कठिन मात्र होईन जटिल पनि बन्दै गएको छl एकल शक्ति राष्ट्रको अहम, उन्माद र हेजेमोनीले अमेरिका आफैलाई बिश्वब्यापी सम्बन्धमा एक्लो र आर्थिकरुपमा निरन्तर कमजोर बनाउदै लगेको छl

All Photos By: Shailesh Shrestha at March For America Immigration Rally D.C.

युद्ध उन्माद अमेरिकाको मूल र पुरातनिक जड हो जसका कारण उ निरन्तर निस्किनै नसक्ने भासमा भासिएको छ, त्यसको पछिल्लो उदाहरण हो ईराकl ईराक र अफगानस्थानको दुईटा महंगा युद्धमा होमिएको अमेरिका यसै युद्धका कारण आर्थिकरुपले निरन्तर ओरालो लाग्यो बर्षौंको आर्थिक मन्दी पछि सन २०१२ बाट मुस्किलले न्यून आर्थिक उन्नति र सुधारको संकेत सहित अमेरिकी अर्थतन्त्र सुधारोन्मुख देखिएको छl

अमेरिकी गृह राजनीतिमा सबभन्दा चर्चामा रहेको र रहने बिषय हो अध्यागमन यानेकि आप्रवासन नीतिl दक्षिणी क्षेत्रको ७०० माईल लामो खुल्ला सिमानालाई यसको प्रमुख कारक मानिन्छ जहाँबाट दैनिक हजारौं दक्षिण अमेरिकी र मध्य अमेरिकी नागरिकहरु अमेरिकी भूमीमा भित्रिने गर्छन तर चर्चा र समाचारमा नआए पनि उत्तरी सिमानाबाट पनि अप्रवासीहरु अमेरिका भित्रिन्छन तर अमेरिकी मुलधारको राजनीतिमा त्यो बिषयले महत्व र चर्चा पाउदैननl

जब जब निर्वाचन नजिक आउँछ, अध्यागमनको बिषय चर्चाको केन्द्र बन्दछ आखिर राजनीति भनेकै गरिब, श्रमजीवी र निमुखाहरुको भावना र आवश्यकता माथि खेलिने खेल होl अहिले फेरी नोभेम्बर महिनामा हुने मध्यावधि निर्वाचनको संघारमा अमेरिकी राजनीतिका धुरन्धर खेलाडीहरु सपना बाड्न सभा, समारोह र घरदैलोमा देखा पर्न थालेका छनl अध्यागमन मुद्धाले प्रारम्भदेखि वर्तमानसम्म उदार, प्रगतिशील र पार्टी बिशेषमा डेमोक्रेटिक पार्टीलाई फाईदा पुर्याउने गरेको छ, सन २००८ मा वर्तमान राष्ट्रपति बराक ओबामाको युगान्तकारी विजयको आधार पनि आप्रवासीहरुको शक्ति नै थियो त्यो सत्यलाई ओबामाले इमान्दारीपुर्वक स्वीकार मात्र गरेका छैनन केहि हदसम्म सम्मान पनि गरेका छनl

तर त्यतिले मात्र पुरा हुन्छ त सन २००८ र २०१२ मा उनले दिएको बचन र आश्वासन? अध्यागन मुद्धामा कहाँ चुक्यो र कहाँ झुक्यो ओबामा त्यसको लेखाजोखा अहिले आम आप्रवासीहरुले गर्न थालेकाछन र उनलाई प्रत्येक सभा समारोहहरुमा निरन्तर उनले गरेको बाचाहरु सम्झाउने गरेका छनl सन २००८ को अभूतपूर्व जित पछाडीको पहिलो सत्र ओबामा प्रशासनका लागि स्वर्णिम युग थियो, चाहेको या जानेको भए उनले साना तिना झिना मसिना मुद्धा मात्र होईन अमेरिकाको पुरातानिक "इमेज" लाई नै पुनर्भाषित गर्न सक्थे तर उनि त्यहाँ नराम्ररी चुकेl करिब बीस बर्ष पछि डेमोक्रेटिक पार्टीको दुवै सदनमा पूर्ण बहुमत थियोl ओबामाले अन्तरिक प्रशासनिक फेरबदल र अन्तराष्ट्रिय सम्बन्ध सुधारमा ठुलो समय खर्च गरे, इजिप्टको कायरोमा गरिएको सम्बोधन त्यसैको पहिलो कदम थियोl

जब अमेरिकी उदारवादी आन्दोलनका सम्मानित नेता "लिबरल लायन" टेड क्यानेडीको निधन भयो अनि मात्र चेतना भयो राष्ट्रपति र डेमोक्रेटिक पार्टीमा हर्ताकर्ताहरुलाई कि माथिल्लो सदन सिनेटमा आफ्नो पार्टीको फेल्लीबस्टर प्रुफ मेजोरिटी (बिधेयक अघि बढाउन चाहिने गणपुरक संख्या यानेकि साठी मत) गुमीसकेको छl त्यहि बिन्दुबाट अध्यागन मुद्धाको अद्योपतन सुरु भयो भने आप्रवासीहरुले आफ्नो खास अभिभावक गुमाएl उक्त बिराषद सम्हालेका न्युयोर्क राज्यका सिनेटर चक सुमरले त्यो स्तर र हैसियतमा काम गर्न सकेननl

अहिले फेरी चर्चा आप्रवासी सुधार बिधेयककै छ, राष्ट्रपति ओबामा आफुले दिएको बचन पुरा गर्दै सम्भवत लेबर डे बिदाको प्रारम्भमै आफुमा अन्तर्निहित अन्तिम अस्त्र "एक्ज्युकेटिभ एक्सन" (कार्यकारी आदेश) जारी गर्न तयार रहेको समाचार अमेरिकी उदारवादी कित्ताका ब्लग र ल्याटिनो ककसका सदस्यहरुले भर्खर सार्वजनिक गरेका छन भने मध्यमार्गी ब्लुकलर डेमोक्रेट्सहरु राष्ट्रिय सुरक्षाका अरु बिषयहरुलाई सम्बोधन गरेर मात्र यो आदेश जारी गर्न सुझाब दिईरहेका छनl

अमेरिकी सरकारसंग निश्चित आंकडा नभए पनि करिब एघार लाख कागतपत्रबिहिन आप्रवासीहरु अमेरिकामा रहेको आम बिश्वास छl

अब राष्ट्रपतीबाट जारी हुने एक्ज्युकेटिभ एक्सनले कति संख्यालाई कानुनी आधार या मान्यता दिन्छ त?

अहिलेसम्म बाहिर आएको समाचार र भित्रि श्रोतबाट प्राप्त भएको जानकारी अनुसार प्राथमिकतामा सन २०१२ को जुन महिनामा राष्ट्रपती ओबामाद्वारा जारी गरिएको डीफर्ड एक्सनबाट लाभान्वितहरुका खास नातेदारहरु (स्पाउस), अमेरिकामै जन्मिएका नावालकहरुका खास नातेदारहरु पर्दछन भने कुनै पनि अपराधिक गतिबिधिमा सामेल भएको नपाईएका लामो समय नियमत कर तिरेर काम गरि बसेका आप्रवासीहरु यो सुबिधाबाट लाभान्वित हुने सम्भावना अधिक रहेको छl

यहि प्रसंगमा "नाङ्लो ठट्टाएर हात्ती तर्साउने" रिपब्लिकनहरुको पुरानो खेल पनि निरन्तर छ, सभामुख जन बेनर, स्टिभ किङ्ग, मार्को रुबियो र दक्षिणपन्थी अतिवादी टि पार्टी समर्थकहरुको आरन्यरोदन अहिले मुलधारको समाचारहरु मा छताछुल्ल पोखिएको छl उनीहरुको पछिल्लो धम्की सरकारको तालाबन्दी, ओबामा केयर बिरुद्ध अदालती प्रक्रिया हुँदै राष्ट्रपती ओबामाको इम्पिचमेन्टसम्म पुगेको छl

सबै बैधानिक र प्रक्रियागत पद्धतिबाट यो बिधेयकलाई समाधान गर्ने बाटो समाधान होईन ब्यबधानमा रमाउने रिपब्लिकनहरुले बन्द गरेको वर्तमान अवस्थामा अब राष्ट्रपतीसंग एक मात्र साहसिक संबैधानिक बाटो कार्यकारी अधिकारको बिधि र कानुनसम्मत अर्को डीफर्ड एक्सन जारी गर्नु हुनेछ भन्ने मेरो निजि बुझाई र विश्लेषण मैले फेसबुक, खसोखास साप्ताहिक र पछिल्लो समय आफ्नै ब्लग सम्प्रेषणयुएसए डट कम मा लेख्दै आएको छुl उनले आफ्नो स्टेट अफ दि युनियनको सम्बोधनमा र मुलधारको टेलिभिजन अन्तर्वार्तामा स्पष्ट अडानका साथ भनेका छन "यदि कांग्रेस (अमेरिकी तल्लो सदन) आफ्नो काम गर्दैन भने कमसेकम हामी आफ्नो काम गर्न सक्छौंl"

यति हुँदा हुँदै पनि ओबामाद्वारा जारी गरिने अधिक सम्भावना रहेको यो "एक्ज्युकेटिभ अर्डर" लाई आप्रवासीहरु प्रतिको उनको उदात्त र उदार उपहार भनेर मात्र बुझ्नु हुँदैन, यसको आफ्नै बाध्यता र राजनैतिक अर्थ छ, अहिले म यो बिषयलाई धेरै तन्काउन चाहन्न, यति भनेर राजनीतिलाई सार र संक्षेपमा बुझौं, अक्सर राजनीति गरिब र निमुखाहरुमा केद्रित रहेर गरिन्छ अनि सत्य यहि हो अमेरिकी राजनीति पनि त्यो भन्दा फरक या विशिष्ट छैनl

#presidentexecutiveorder #immigration #cirb #barackobama #sampreshan #shaileshshrestha #nepaliimmigrants #gangofeight

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.