खोई के लेखौं! जसका बारेमा म केहि जान्दिन
आगामी हप्ता प्रकाशित गरिने ब्लगको लागि बिषय चयनमा व्यस्त रहेको यो बखत सम्प्रेषणका शुभचिन्तक दर्शक तथा फेसबुकका नियमित सहृदयी पाठक मित्रहरु एकोहोरो सोधिरहनु भएको छ "शैलेशजी अन्जु पन्तको बारेमा तपाईको भनाई के छ?"
खोई के छ भनौं, देखेको र लागेको कुरो लेख्न कति पनि नडराउने म यो आगो (धर्म) संग खेल्न डराईरहेको छुl यो आगोको राप, ताप र अहमले बस्ति देखि साम्राज्य सखाप भएको अधर्मी ईतिहास पढेको छुl कुनै कोणबाट सोच्दा पनि यो जटिल बिषयमा मैले दुई शब्द लेखेर तपाईहरुको प्रश्न या जिज्ञाशाको न्यायोचित जवाफ दिन सक्छु जस्तो पनि मलाई लाग्दैनi धर्म मेरो रुचि या प्राथमिकता केहि पनि होईन बरु कतिपय ब्यबहारिक क्षणहरुमा यो मेरो बिबशता र बाध्यतासम्म चाँही बन्ने गर्छl
फेरी "धर्म अफिम हो" भन्ने सामाजिक र राजनैतिक स्कुलिङ्गमा हुर्की पढी, बढी त्यहि बुझाई र मान्यतामा अडेको म जस्तो अधार्मिक मान्छेको लागि यो बिषयमा लेख्नु कठिन मात्र होईन जोखिम पनि होl तर दुवै कित्ताको धार्मिक अतिवादीहरुको असहिष्णुता देख्दा र पढ्दा म एउटा निर्क्यौलमा भने पुगेको छु, अब हाम्रो देश नेपाल र हाम्रो नेपाली समुदायमा यो "अफिम" खेती मौलाएछl पण्डा र पादरीहरुले हाम्रा स्वाधीन अनि सेकुलर दिमागलाई ब्रेन वास गरेर अतिबादको बिजारोपण गरिदिएछनl
सनातनी हिन्दु धर्मको आवरण मात्र भएको अत्यन्त सेकुलर परिवार र मिश्रित सांस्कृतिक पहिचान भएको माझकिरातको म जस्तो भगौडा नेवारको छोरोको लागि यो धर्मान्धता, धार्मिक अतिवाद र असहिष्णुता बुझिनसक्नु र लेखिनसक्नुको बिषय भएको छl आदरणीय दर्शक, पाठक तथा मित्र बन्धुबान्दभहरु माफ गर्नुस म केही लेख्न सक्दिन किनकी म "धर्म" बुझ्दिन तर अरुलाई नहोच्याई गाली नगरी तपाईले अंगाल्नु भएको मानव धर्मको मर्मलाई चाँही मनबाट सम्मान गर्छुl