किन घुम्न जानु मेरा सहकर्मीहरुको चिहान?

हिजो राती नै निधो गरे म आज दिनभर टेलिभिजन हेर्दिन तर संबाद र संचारबाट टाढा कहाँ हुन सकिँदो रैछ' र? ...ट्रीङ्ग ट्रीङ्ग फोनको घन्टी बजिरहेको छ..स्मृति सभा र भेटघाटको निम्ता आईरहेको छl आज ९/११ को कहाली लाग्दो सम्झनै मन नलाग्ने त्राषद बिहान जुन दिन हामीले ७३ जना आफ्ना सहकर्मी गुमायौंl फेसबुक र फेसबुक पेजहरुमा आततायी हमलाबाट मारिएका मेरा सहकर्मी मित्रहरुका फेहरिस्त राखिएका छन, म साहस बटुलेर हाम्रो समुहगत फेसबुक पन्नामा छिर्छु तर धेरै बेर अड्न सक्दिनl

9/11 memories: After the attacks the Twin Towers.

Photos courtesy: Roy Steele for USNepalOnline.com

हाईराईज (आकासे) भवनहरुका ठुला एलेभेटर छिर्दा म हिजो आज उकुसमुकुस (सोफोकेशन)भएको अनुभूति गर्छु सकभर एक्लै चड्न नपरे हुन्थ्यो भन्ने लाग्छl यि आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरे पनि हुन्थ्यो जस्तो लाग्छl तर मेरो भावनाले उनीहरुको व्यापारलाई रोक्न सक्दैन त्यो पनि मलाई थाहा छl म "मन" बोल्छु र यो क्षण बोलिरहेको छु तर मेरा सहकर्मी मित्रहरुको चिहानको आसपासमा "धन" को खोज र खेती हुन्छl हामी भावना बोल्छौँ तर उनीहरु व्यापार गर्छनl त्यो संसारकै अग्लो ठाँउमा रहेको रेस्टुरेन्ट उईन्डोज अफ द वोर्ल्डको १०६ तल्ला हामी दुई फरक एलेभेटरबाट आवत जावत गर्थौँ जहाँ हामी संसारभरका अनि करिब पचास देशका पाँच सय आप्रवासीहरु काम गर्थ्यौंl

नेपाल या अमेरिकाको अन्य राज्यहरुबाट आफन्त या साथीसंगीहरु आउँदा उहाँहरुको घुम्ने पर्ने ठाँउहरुको लिस्टमा प्राय जसो ग्राउण्ड जिरो यानेकि पहिलेको ओर्ल्ड ट्रेड सेन्टर पर्ने गर्दछl म निरन्तर बिलखबन्दमा पर्छु, खुलेर उहाँहरुलाई भन्न सक्दिन "किन घुम्न जानु मेरा सहकर्मीहरुको चिहान?"

मेरो साथी डा. प्रदीप भट्टराईले सधै नेपालबाट लख्ने गर्छन "साथी बोनसको जीवन पाएका र बाँचेका छौ असल र अर्थपूर्ण काम गर हैl" मेरी श्रीमति प्राय जसो ९/११ को मेमोरियल सेरेमोनीहरुमा जान रुचाउदैनन्, उनि भन्ने गर्छिन "बुढा, तिमी मंचमा चढेर रुन्छौ मात्र के हेर्नु पुरुषको आँशु!" आँशु आखिर आँशु नै हो कहाँ रोकिँदो रहेछ र! जसको आँखाबाट बर्सिए पनि मन दुखेर या पग्लेर झर्ने आँशुको रंग सायद उस्तै हुन्छ होलाl

दस बर्ष हामीले निरन्तर रोयौं अब हामीले त्यो शोकलाई शक्तिमा बदल्दै आप्रवासीहरुको अधिकारका लागि निरन्तर काम गर्ने लक्षका साथ रक न्युयोर्क (रेस्टुरेन्ट अपर्च्युनिटिज सेन्टर अफ न्युयोर्क) को गठन र देश भर विस्तार गरेर निरन्तर आप्रवासीहरुको हक र अधिकारकालागि सडकदेखि सदनसम्म अधिकारकर्म गरिरहेका छौंl

शोकलाई शक्तिमा बदल्ने प्रण गर्दै उईन्डोज अफ द वोर्ल्ड का सहकर्मीहरु तस्विर श्रोत: प्रदीप थापामगर (युयसनेपाल अनलाईन डट कम)

म यो क्षण धार्मिक अतिबाद र आतंकबादी आततायी हमलामा अकाल मारिएकाहरु प्रति भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दै मेरा सहकर्मी मित्रहरुलाई सम्झीरहेको छुl

Read this:

-एउटा नेपाली छोरो जो भाग्यबश बाँच्यो, जहाँ २,७४९ मारिए जस मध्ये ७३ जना उनका साथीहरु थिए

#911 #worldtradecenter #roc #groundzero #colors #sampreshan #shaileshshrestha

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.