एनआरएन अमेरिकाको "एक्स्ट्रा लार्ज मिसन"

एनआरएन अमेरिका जे गर्छ "धमाका" गर्छ, तरंग पैदा गर्छl सानो तिनो काममा यो संस्थाको रुचि नै छैनl मेम्बरसीप ड्राइभ गर्ने, कमिटीलाई पूर्णता दिने, च्याप्टर गठन गर्ने, बिधान संसोधन गर्ने, नियम कानुन बनाउने जस्ता झिना मसिना कामहरु यिनको रुचि र प्रथमिकतामा पर्दैनl चुनाब जितेर माखो मारेन भनेर आ-मरिखाबासीहरुले कुरा काटेको सुन्ना साथ करिब चार करोड रुपैया बराबरको "उधारो थैली" ( यो हप्ताको सम्प्रेषण हेर्नु होला) केन्द्रिय अध्यक्ष शेष घलेजीलाई थमाएर मस्त निद्रामा सुतेको एनआरएन अमेरिकाले हिजो राती अर्को "थ्री डी" भर्जनको "एक्स्ट्रा लार्ज" निर्णय सार्वजनिक गरेको छ, प्रेसित बिज्ञप्ति र हर्ताकर्ताहरुको मुहार पुस्तिकामा लेखिएको छ "२५ सदस्यीय सल्लाहकारहरुको चयन गर्दै एनआरएन अमेरिकाको बैठक सम्पन्न"l

Photo courtesy: USNepalOnline.com

उप्स.."पच्चीस" को अगाडी "एक" छुटे जस्तो छ...ठुलो देशको ठुलै चाला..आखिरी अब मुस्किलले सात महिनाको कार्यकाल त बाँकि छ नी! मौकामा चौका किन नहान्ने? पच्चीस मात्र किन? एक सय पच्चीस जनाको सल्लाहकार सभा बनाएको भए त हिजो चुनाबमा सघाउनेहरु सबैलाई भर्ति गर्न मिल्थ्यो नी? यी सम्मानित नामहरु प्रतिको बिमति पक्कै होईन सिर्फ उहाँहरुको कार्य शैली र प्राथमिकताहरु प्रतिको गुनासो र बिमति चाँही होl

एउटा सत्य फेरी दोहोर्याउछु, आफुलाई "अपरिहार्य" ठान्ने कुचेष्टा कृपया नगर्नुसl अवसर पाउनु भएको छ समय छँदै सच्चिनुस, आफ्नो घेरा तोडेर अलि फराकिलो बन्नुस, "हाम्रो" लाई छान्न छाडेर "राम्रो" लाई ल्याउने साहस गर्नुसl अन्यथा खहरेले पातहरु किनारा लगाए जस्तै हालत हुनेछ तपाईहरुकोl तपाईहरुसंग मुस्किलले अर्को आठ महिना छ, चाहेर पनि यो कार्यकाल तन्काउन सक्नु हुन्न किनकी अब एनआरएन अमेरिका जागी सक्योl अर्को चुनाबमा हामीसंग असल नेतृत्वको सम्भावना र बिकल्पहरु हुनेछन, त्यसका लागि बृहद र व्यापक सदस्यता वितरणको आबश्यकता छl

बुझी नसक्नु भएको छ किन यो वर्तमान एनआरएन अमेरिकालाई सदस्यता वितरणमा पटक्कै रुचि छैन? च्याप्टर गठनको ढोंग पिटे पनि किन कार्यान्वयन भएको छैन? अनि किन हामीले सदस्यता बापत तिरेको दस डलरको हिसाब अहिलेसम्म सार्वजनिक गरिएको छैन? र किन अघिल्ला कार्यकालहरुमा ब्रम्हलूट गरियो भनिएको हिसाब किताबको फेहरिस्त बाहिर ल्याउन सकिएको छैन? केले रोकेको छ तपाईहरुलाई? तपाईहरुसंग "रेडीमेड" जवाफ या बहाना हुन्छ, "के गर्नु हामीले आफ्नो काम धन्दा पनि त गर्ने पर्यो", "यो त हाम्रो समाजसेवा मात्र हो" आदि इत्यादी....तर तपाईहरुले यो सत्य न मंचहरुमा बोल्नु भो न त तपाईका घोषणापत्रहरु मै इमान्दारिताका साथ उल्लेख गर्नु भोl थुप्रै आकासे सपनाहरुको फेहरिस्तले सजित तपाईका घोषणापत्रहरु अझै संचारकर्मीहरुका फायलमा सुरक्षित छन्l

हामी सबैको यो साँझा संस्थालाई ठुलो बनाउनु भनेको "हुकुमी" र "हैकमी" प्रबृत्तिको अन्त्य गर्नु हो, आउनुस तपाई हामी सबै जना "पानी माथिको ओभानो" बन्ने संस्कारलाई त्यागी स्वस्फुर्तरुपमा एनआरएन अमेरिकाको स्वामित्व ग्रहण गर्दै एकाधिकारबादको अन्त्य गरौँl जय एनआरएन!

#nrn

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.