अमेरिकी राजनीतिमा अध्यागमन: बोल्यो कि पोल्यो

राष्ट्रपति ओबामा राजनैतिक लाभ हानी र आसन्न निर्वाचनको हिसाब किताब गरेर अलि अलि गर्दै दिन्छन तर रिपब्लिकनहरु पाएसम्म पुरै र सकेसम्म देशै निकाला गर्न कस्सिनछनl अमेरिकी राजनीतिमा अध्यागमन दुवै पार्टीको लागि खेली खाने या मागी खाने भाँडो भएको छl जब चुनाब नजिक आउँछ यो मुद्दा सतहमा आउँछ अहिले त्यहि भएको छl दक्षिणपन्थी पुरातनवादी रिपब्लिकन तथा अनुदारवादी टी पार्टीका नेता तथा समर्थकहरु यहि अस्त्र प्रयोग गरेर पुरानो बचे खुचेको किल्ला र कित्ता सुरक्षित गर्न चाहन्छ भने ब्लु कलर दक्षिणपन्थी डेमोक्रेट्सहरु गोरु कुटेर हलो अड्काउछनl

Photo By: Shailesh Shrestha March for America Immigration Rally Washington D.C.

अमेरिकी राजनीतिका पण्डितहरु भन्ने गर्छन, अमेरिकामा परिवर्तन असम्भब चाँही छैन तर नितान्त कठिन छl जनताको चाहना र अभिमतले एक कदम अगाडी बढेर फेरी दुई कदम पछाडी फर्कनु अमेरिकाको राजनैतिक नियति नै बन्न पुगेको छ चाहे राष्ट्रपति बिल क्लिन्टनको दोश्रो कार्यकालमा होस् चाहे सन् २००८ को आमुल परिवर्तनको चाहना स्वरूप उर्लिएको "आशा" र "परिवर्तन" को नकारात्मक यु टर्न नै किन नहोसl सारा शक्ति र श्रोत लगाएर राष्ट्रपति ओबामाले पहिलो कार्यकालमा पास गराएको अफोर्डेबल केयर एक्ट (ओबामा केयर) अहिले "खाँउ भने दिन भरिको शिकार नखाँउ भने कान्छो बाउको अनुहार" भएको छ भने दोश्रो कार्यकालको पहिलो प्राथमिकतामा परेको आप्रवासी सुधार बिधेयक हाउस अफरेप्रेजेन्टेटिभमा छिर्न नपाएर कहीं कतै राष्ट्रपति ओबामाको डेस्क या फाईलमा एक्जुकेटिभ एक्शनको संकुचित सईजमा जीवन र मृत्युको दोसाँधमा "घरको न घाटको" भएर बाँचेको छl

लामो समय अमेरिकामा बिभिन्न बहानामा सत्तारोहण र दोहन गरेका दक्षिणपन्थी रिपब्लिकनहरु मुर्ख छैनन तर जिद्दी छन त्यसैले बुझेर पनि बुझपचाउछनl चवालिस प्रतिशत ल्याटिनोको मन र मत जितेर रिपब्लिकन जर्ज डब्ल्यु बुशले राष्ट्रपतिको निर्वाचन जितेको र "सेल्फ डीपोर्टेशन" को आत्मघाती भनाईका कारण राष्ट्रपतिका प्रत्याशी रिपब्लिकन मिट रम्नी २१ प्रतिशत ल्याटिनो मतमा खुम्चिनु परेको पछिल्लो दृश्य र तथ्य बारे रिपब्लिकन सल्लाहकार र योजनाकार अनभिज्ञ छैननl

प्रत्येक छ जनामा एक जना ल्याटिनो मतदाता भईसकेको र आप्रवासीहरुको संख्या र राजनैतिक पहुँच बिस्तार भईरहेको यो अवस्थामा उनीहरुको मूल सरोकार अध्यागमनलाई सम्बोधन र अझ समर्थन नगरी अब कुनै पनि रिपब्लिकन अमेरिकी राष्ट्रपति बन्ने सम्भावना क्षीण हुन थालेको छ तर पनि समाधान भन्दा व्यवधान रुचाउने टी पार्टी समर्थक अतिवादीहरुका कारण सम्पूर्ण रिपब्लिकन संस्थापन यो चक्रब्युहमा नराम्ररी फसेका छनl

राष्ट्रपति ओबामाको बहुप्रतिक्षित कार्यकारी आदेश (एक्जुकेटिभ एक्शन) राजनैतिक कारणले अर्को केहि महिना अथवा आउँदो नोभेम्बर महिनाको चुनाबसम्म जारी नहुने भएपछी अहिले पहिलो पटक राष्ट्रपति ओबामा र ल्याटिनो कंग्रेसनल ककस बीच सम्बन्ध चोसो हुन पुगेको छl ककसका शक्तिशाली सदस्य तथा बृहद आप्रवासी सुधार बिधेयकका योजनाकार एलिनोयिस राज्यका कांग्रेसमेन लुईस ग्युटिरेज़ले राष्ट्रपति ओबामा र दक्षिणपन्थी डेमोक्रेट्सहरुको चक्रब्युहलाई प्रहार गर्दै यो चिरप्रतिक्षित बिधेयक आउँदो थ्यांङ्क्स गिभिंगसम्ममा जारी गरेर आप्रवासीहरुलाई दिएको बचन पुरा गर्न राष्ट्रपतिलाई अल्टिमेटम दिएका छन्l

A Youth Heckler to Obama: You have power to stop the deportation Clip from Youtube

कार्यकारी आदेश जारी गर्न तयार रहेका राष्ट्रपतिलाई केहि रेड स्टेटका दक्षिणपन्थी डेमोक्रेटिक सिनेटरहरु र राजनैतिक सल्लाहकारहरुले आउँदो नोभेम्बर महिनामा हुने चुनाब अगाडी यो आदेश जारी नगर्न सल्लाह दिएका थिए, उनीहरुको सल्लाह र राष्ट्रपति ओबामाको बुझाईमा रेड स्टेट भनेर जानिने रिपब्लिकनहरुको बाहुल्य रहेका ति राज्यहरुमा यहि अध्यागमन मुद्दाका कारण वर्तमान डेमोक्रेटिक पार्टीका सिनेटरहरुले पराजय भोग्नु पर्ने छ र अमेरिकी माथिल्लो सदन सेनेट रिपब्लिकनहरुको कब्जामा जानेछl तर आप्रवासी अधिकारकर्मी संघ संस्थाहरु अब कुनै पनि बहानालाई स्वीकार गर्ने र पर्खने रणनीतिमा छैनन, त्यसैले राष्ट्रपति ओबामा माथि ल्याटिनो तथा आप्रवासीहरुको प्रचण्ड दवाब निरन्तर परिरहेको छl

ओबामा अहिले रिसाएका र भड्किएका आप्रवासीहरुलाई फकाउने रणनीतिमा लागेका छन त्यसैको पछिल्लो प्रमाण हो उपराष्ट्रपति जो बाईडेनको ल्याटिनो अधिकारी र अधिकारकर्मीहरुसंगको पछिल्लो भेट र हिजो मात्र राष्ट्रपतिले जारी गरेको डिफर्ड एक्शनबाट बैधानिकता पाएका नावालक आप्रवासीहरुलाई सैनिक सेवामा भर्ना हुन पाउने सुबिधाको घोषणाl ड्रिम एक्टका अभियन्ताहरुले प्रारम्भ देखि माग गरेको प्रमुख मुद्दा र माग मध्य यो पनि एउटा हो तर अहिले ओबामाले भड्किएका आप्रवासीहरुलाई लोभ्याउन र फकाउन यो अबस्थामा जारी गरेको यो प्याकेजलाई उनीहरुले "ललीपप" को संज्ञा दिएका छनl यस्ता झिना मसिना कुराले अध्यागमनको आम मुद्दालाई सम्बोधन र समाधान नगर्ने उनीहरुको तर्क छl ड्रिम एक्टको पक्षमा प्रारम्भ देखि वकालत गरिरहेका युनाईटेड उई ड्रिमले राष्ट्रपतिको यो पछिल्लो कदमलाई "नाईस ट्राई" मात्र भनेको छl

राष्ट्रपतिको यो निर्णयले "केहि दर्जन" ड्रिमरहरुलाई मात्र सिधा लाभ पुर्याउने तर्क बिशेषज्ञहरुले गरेका छन यस अर्थमा पनि यो नितान्त सानो तर सांकेतिक निर्णय हो भनेर बुझ्नु पर्ने हुन्छl माभ्नी (मिलिटरी अस्सेसन्स भाईटल इन्टरेस्ट प्रोग्राम) मा योग्य हुनको लागि नितान्त कठिन मापदण्ड पुरा गर्नु पर्ने हुन्छ, त्यको लागि आवेदन दिंदा आफु मात्र होईन आफ्ना नजिकका नातेदारहरुको कानुनी मान्यता र हैसियत पनि खुलाउनु पर्ने हुन्छ तथापी त्यसलाई गोप्य राखिने कुराको कानुनी प्रत्याभूति दिईएको हुन्छl यसमा योग्य हुनको लागि बिशेष शिप र भाषिक दखल हुनुपर्ने हुन्छl स्पेनिष भाषा अमेरिकाको दोश्रो कामकाजी भाषा भएकोले यो प्राबधान अन्तर्गत सैनिक सेवामा जानको लागि स्पेनिष भाषामा दखल भएकोहरुले मन्यता पाउदैननl

बिस्वस्त सुत्र र श्रोतहरुले जानकारी गराए अनुसार यो कोटामा करिब सोह्र हजार आकांक्षीहरु लामो समयदेखि लाईनमा रहेका छनl यो अधिकारिक तथ्यले पनि ओबामाको पछिल्लो "ललीपप" को औचित्य र आकर्षण घटाएको छl राष्ट्रपति ओबामा सन् २०१२ मा जारी गरेको डाका (डिफर्ड एक्शन फर चाईल्डहुड अराईभल) ले सम्भावित देश निकालामा पर्न सक्ने आधा मिलियन भन्दा बढी नावालकहरुलाई अहिले अस्थायी कानुनी मान्यता दिएको छ तर धर्म र इश्वरको कुरा गरेर कहिले नथाक्ने प्रो-लाईफका पक्षधर आडम्बरी रिपब्लिकनहरुले गत अगस्त महिनामा आफुहरु रिसेस (घर बिदा) मा जानु अघि राष्ट्रपतिले जारी गरेर सुबिधा पाएका नाबालकहरुको सुबिधा नवीकरण नगर्ने निर्णय गरेको छl यसको सिधा अर्थ हो उनीहरु पुनः यि बेकसुर नावालकहरुलाई कागजपत्र बिहिन बनाउन चाहन्छनl यसरी उनीहरु निरन्तर अध्यागमनसंग सम्बन्धित सम्पूर्ण मुद्दाहरुलाई विषयान्तर गरेर राष्ट्रपति ओबामालाई जबर्जस्त युद्धमा धकेल्न चाहन्छनl

धार्मिक अतिवादी समुह आईसेल र आईसीस बिरुद्ध सिरियाली भूमिमा आकाश युद्ध गर्न ओबामाले कांग्रेसको अनुमोदन मागेपछि रिपब्लिकनहरुको ठुलो बहुमतले स्वस्फुर्त समर्थन गरेका छन तर त्यहि अमेरिकी तल्लो सदनमा सिनेटले करिब चौध महिना अघि पास गरेको बृहद आप्रवासी सुधार बिधेयकलाई अहिलेसम्म छलफल र मतदानमा ल्याएको छैनl यो घटनाले युद्ध उन्मादी दक्षिणपन्थी रिपब्लिकन र नीति भन्दा राजनीति प्रेमी पुरातनिक ब्लु कलर डेमोक्रेट्सहरुको देखिन बाँकी रहेको अध्यागमन बिरोधी अनुहार थप उदांग भएको छl

#barackobama #sampreshan #immigration #nepalicommunity #shaileshshrestha #cirb #latinocongressionalcaucus

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.