यस्तो भेट...जहाँ समय टक्क अडेको छ

मित्र निमा पाख्रिन, किशोर पन्थी, प्रशान भाई र म प्रतिक्षा स्थलमा रोमान्चित बन्दै लख काट्न थाल्यौं..तुलसी दाईको शिरमा "काउ ब्याई ह्याट" हुन्छ कि हुँदैन होला...बहुमत हुन्छ भन्ने मै थियो...पर एक जना पश्चिमा चलचित्रका नायक जस्ता देखिने "रफ टफ गाई" टक..टक..टक...हामी तिर अघि बढ्छ! हामी उनलाई हग गर्न (अंगाल्न) तछाड मछाड गर्छौं..म बाजी मार्छु, प्रशान भाई मेरो मर्यादा क्रमको सम्मान गर्दै पछि हट्छl

तुलसी दाई मलाई अंगालोमा कस्दै "बलिदानी" धाप मार्छन..अनि शिर देखि पाउसम्म निर्देशकीय नजरले तीन "टेक" लिन्छन र पहिलो संवादको प्रारम्भ गर्छन.." लु है यो भाई त जस्ताको तस्तै रैछ केहि फेरिएको रहेनछ...", समय बित्दै जाँदा र उमेर छिप्पिदै जाँदा अक्सर यस्तो संवादले हामीलाई सन्त्वना र प्रेरणा दुवै दिने गर्छ, प्रत्त्युत्तरमा म सिर्फ यति भन्छु "...दाई, तपाई पनि उस्तै हुनुहुँदो रहेछ, हामीले समयलाई टप्प रोकेर राखेछौँ"l

करिब डेढ दशक अगाडी हामी पुरै परिवार (मेरी श्रीमति, छोरी र म) उहाँको चलचित्र "बलिदान" मा खेलेका थियौंl उहाँले काखमा खेलाउनु भएको नावालक कलाकार हाम्री छोरी अहिले कलेज जाने भईसकी, समय निकै अगाडी बढीसकेको छ तथापी हामी रंगीन काँचको पर्दाको भाषा र परिकल्पनामा समयलाई जहींको तहीं रोक्ने दुस्साहस गर्छौं र भन्ने गर्छौं "समय टक्क त्यहि अडेको छl"

हामी भोली शनिवार न्युयोर्कको मालिंगो रेस्टुरेन्टमा उहाँको पछिल्लो चलचित्र "दृष्टिकोण" उहाँसंगै बसेर हेर्छौं अनि पर्सि आईतबार ज्याक्सन हाईट्सको याक रेस्टुरेन्टमा "तुलसी घिमिरेसंग एक साँझ" नामक अन्तरक्रियात्मक कार्यक्रममा उहाँसंग आत्मीय भलाकुसारी गर्छौंl

आउनुस तपाई हामी यो बडा दसैंको सुखद अवसरमा हाम्रा आदरणीय चलचित्र निर्देशक दाई तुलसी घिमिरेसंग बसौं, सुनौं र रमाऔंl


Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.