कहिले सकिएला एनआरएन अमेरिकाको "आत्मरती" र "उची उडान"?

पहिलेको एनआरएन अमेरिका: "नखाँउ भने दिन भरिको शिकार खाँउ भने कान्छो बाउको अनुहार"

अहिलेको एनआरएन अमेरिका: "काम कुरो एकातिर कुम्लो बोकी ठिमी (काठमाडौँ ) तिर"

यो हाम्रो संगठनका दुई हस्तीहरु अध्यक्ष खगेन्द्र क्षेत्री र प्रथम उपाध्यक्ष लोक तिवारी अहिले अमेरिकी नेपाली बजारमा हल्ला र चर्चाको शिखरमा छनl हाम्रा एनआरएन अमेरिकाका अध्यक्ष जसले करिब दुई दशक कानुन पैरवीमा बिताएका छन र अहिले एउटा पत्रिकाले आफ्नो सर्वेक्षणमा सुपर लयरको कोटीमा राख्यो, हाम्रा मान्छेको ब्यबसायिक साख र सौकत बढ्यो हामी दंग र खुसी छौं, खगेन्द्र क्षेत्रीजीलाई पुनः बधाई छl अर्का हस्ती प्रथम उपाध्यक्ष लोक तिवारीजीले राष्ट्रपति बराक ओबामासंग समुहगतरुपमा डेढ घण्टा भेटघाट या वार्तालाप गरेको समाचार पनि छ्याप छ्याप्ती बजारमा आयो त्यसमा पनि हामी फुरुंग भएका छौं नेपाली जातीको पहुँच राष्ट्रपति या ह्वाईट हाउससम्म नी पुग्न थालेछ, क्या बात लोक तिवारीजी!

पहिलो गाँसमै ढुंगा: एनआरएनको ज्याक्सन हाईट्स मेला तस्विर साभार: कृष्ण के.सी.

अब कुरोको चुरो अमेरिकी नेपाली समाजको घर आँगन, चुला चौका, चोक गल्लि र मोहल्लाहरुमा एउटा मूल अनि यक्ष प्रश्न बनेर ठिङ्ग उभिएको छ, अब यिनीहरुले के के चाँही गर्छन त एनआरएन अमेरिकाको लागि यो आत्मरती र उची उडान बाहेक? यहि यिनै अतिरंजनाहरुमा नै सकिन्छन त यिनीहरुको यो छोटो कार्यकाल?

एनआरएन दिवसको अवसरमा अमेरिकाबाट ठुलै डफ्फा काठमाडौँ पुग्यो आफ्नो पहुँच र प्रभाब राम्रो कायम गर्योl राष्ट्रपति, प्रधानमन्त्री अनि अरु थुप्रै उच्च पदस्थ व्यक्ति व्यक्तित्वहरुसंग भेटको प्रसंग समाचार र तस्विरहरुमा आए सबभन्दा बढी मुहार पुस्तिका स्वप्निल अनि रंगीन बन्योl एनआरएन अमेरिकाको आफ्नो नियन्त्रित पेज र बाहिर हाम्रा मेडिया संयोजक कृष्ण के.सी. ले तस्विर र बासी तर अतिरन्जित समाचारहरु निरन्तर पोष्ट गरिरहेl

राम्रा भए जति सबै एनआरएन अमेरिकाले र आफ्नो टोलीले काठमाडौँमा या न्युयोर्क आएको बखत प्रधानमन्त्रीलाई भेटे पछि भएको भन्ने पुङ्गमाने गफ पनि छाँटी रहेl अलिकति बुझेका र फलोअप गरिरहेका हामी संचारकर्मीहरु पनि निरिह पाठक मात्र भई रह्यौंl अर्को दिन हाम्रा मिडिया संयोजक के.सी. काठमाडौँबाट लेख्छन "एनआरएन अमेरिकाको पहलमा न्युयोर्कमा बन्द भएको कन्सुलर अफिस पुनः संचालन"l जुन कार्यलय दुई महिना अघि देखि संचालनमा आएको आम मानिसलाई थाहा छl अब चाँही अति भो संचारकर्मीहरुको कन्सिरी अलि तातेछ यो पटक भने यो खबरको निकै बिरोध भयोl

यहि बिषयमा न्युयोर्कमा बारम्बार जनसम्पर्क समितीले प्रधानमन्त्रीलाई हामीले ज्ञापन पत्र बुझाए पछि कन्सुलर अफिस फिर्ता आयो भनेर सार्वजनिक ढीङ्ग पिट्ने गरेको छl प्रवासमा रहेका नेपालीहरुको यथार्थ र ब्यबहारिक माग "नागरिकताको निरन्तरता" को पक्षमा नेपालमा पहिलो पटक प्राय सबै ठुला राजनैतिक दलहरु सकारात्मक देखिए र नयाँ बन्ने संबिधानमा प्रवासी नेपालीहरुलाई राजनैतिक अधिकार बिनाको "बिशेष नागरिकता" दिने राजनैतिक सहमति बन्यो अब यसको जस लिन पनि मारामार अनि हानथापl यहीं न्युयोर्कमा एमाले समर्थित संगठन भनेर जानिएको प्रवासी नेपाली मंचका हर्ताकर्ताले मंचबाट संखनाद गरे यो त हामीले हाम्रो अधिबेशनमा दवाब दिए पछि मात्र सम्भब भएको होl l

के यसको मतलब अब यता वा उता जे हुन्छ तपाईहरुको दयामाया अनि कृपाले मात्र हुन्छ? अब समुदाय, आम मानिस र संचारको कुनै स्थान या अर्थ छैन? किन मान्छेको शक्ति र आवाजलाई निस्तेज पार्ने या नजरअन्दाज गर्ने दुष्प्रयास गर्नु हुन्छ? हामीले गर्यौं या गरेको भन्दा तपाईको वजन, बौध्दिकता, ब्यबसायिकता या कद कत्तिपनि घट्दैनl

न्युयोर्कमा भएको एनआरएन अमेरिका पदस्थापन समारोह तस्विर: अशोक पन्त (नेपालफोटोन्युज डट कम)

आम प्रवासी नेपालीहरु भन्न थालेका छन: अब हामीलाई हिसाब किताब चाहियोl के के लछार पाटो लाउनु भयो नेपाल पुगेर? सदस्यता बापत उठाईएको रकम कहाँ र कति छ? काठमाडौँको बिल्डिंग बनाउन अमेरिकाबाट उठ्यो भनिएको चार करोड मध्य केन्द्रलाई कति बुझाउनु भयो? अनि पहिले पहिलेकाले भोजभतेर गरेर सके भनेको रकम कसरी असुल उपर गर्नुहुन्छ? कि आलोपालो "झ्वाम"! साविकको ३९८८ बाट यो चार महिनामा कति सदस्य संख्या बढाउनु भो? शेष घलेजी आउँदा रिबन काटेर उद्घाटन गरियो भनिएको ज्याक्सन हाईट्सको कार्यालय कुन दिन कति बजे खुल्छ?

एनआरएनए अध्यक्ष शेष घलेले उद्घाटन गरेको ज्याक्सन हाईट्स स्थित एनआरएन अमेरिकाको कार्यालय

मे १५ मा नयाँ कार्यसमितीको निर्वाचन हुन्छ या गर्नु पर्छ भन्ने जानकारी आम सदस्य या अमेरिकी प्रवासी नेपालीलाई थाहा छ? कहिलेसम्ममा थप भएको सदस्य सहितको अन्तिम नामावली निर्वाचन प्रमुखलाई बुझाउनु हुन्छ? अब मुस्किलले तपाई हामीसंग साढे पाँच महिना बाँकि छ, यदि स्वतन्त्र र निस्पक्ष निर्वाचन सम्पन्न गराउने हो भने मार्च महिनाको पन्द्र तारिखसम्ममा निर्वाचन प्रमुखको कार्यालयमा मतदाताको पुर्ण नामावली पठाई सक्नु पार्ने हुन्छ कि यसपाली पनि निर्वाचन प्रमुखलाई बकरी बनाउने?

एनआरएन अमेरिकाको टोली न्युयोर्क आईपुगेको पहिलो दिन देखि मैले पत्राचार गरेर या निजिरुपमा फोन गरेर त्यहाँ काठमाडौँमा भए गरेका काम या प्रगतिहरुको फेहरिस्त सम्प्रेषण गर्न एउटा प्रत्रकार भेटघाट तुरुन्त गर्नु पार्ने आत्मीय सुझाब दिकेको छुl तर मेला, भोजभतेर र मान सम्मान बाँडेर निर्लिप्त रमाउनु भएका तपाईहरुलाई मेरो सुझाब मन परेन बरु प्रायोजित र अतिरन्जित समाचार छपाएर आत्मरतीमा उचीउडान भर्नु र गर्नु भएको छl समयमै सुरक्षित अवतरण गर्नुस र अन्तमा फेरी पनि नाटककार जँ पल सार्तको नाटक "बिना चिहानको मृत्यु" को यो पंक्ती तपाईहरुलाई सम्झना गराउछु "तपाई या हामी कोहि पनि अपरिहार्य छैनौं"!

#nrna #nrnnccusa #khagendragc #loktiwari #sampreshan #shaileshshrestha #nepaliblog #blogfromusa #hbbhandari

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.