नेपाली संगीत बजारका राजेश पायलहरु र गीत संगीतका प्रवासी घायलहरु

हिजो आज न्युयोर्क महाबजारको हल्ला नगरी ज्याक्सन हाईट्स तिर हुने कार्यक्रममा जान पर्ने भयो कि यो शरीरको तापक्रम दुई डिग्री सेल्सियस बढ्छ | पहिलो कुरा त भिषण, भाषण, दिर्घ आशनको पुरातानिक शैलीका कारण भनिएको कार्यक्रम भनिएको समय भन्दा ठ्याक्कै तीन घण्टा ढिला हुन्छ | त्यहि दस गजा भित्र खोलिएका ८७ वटा संघ-संगठनहरुका पुर्ब, वर्तमान, निवर्तमान अझ भावी व्यक्तित्वलाई अतिथि, बिशेष अतिथि, यथास्थानको अतिथिको पगरी गुथाउँदा गुथाउँदै रात छिप्पिई सकेको हुन्छ | आयोजकलाई कार्यक्रम सुरु गर्ने कुनै हतारो नै हुँदैन तर हामीलाई भने घर फर्किने हतारो भईसकेको हुन्छ |

यो न्युयोर्क सहरमा सांगीतिक रसमा झुम्दै संगीत पारखीको हैसियतमा चुपचाप घन्टौं गीत सुन्दै आफुलाई नै हराउन नपाएको धेरै भयो | ब्रम्हाण्डीय यात्रामा निस्किएकाहरु बेसुरा गायक गायिकाहरुको सांगीतिक हल्ला ब्यापारको मौन ग्राहक धेरै भईयो तर तिनीहरुलाई सुनेर आफुलाई हराउने सांगीतिक सपना कहिल्यै पुरा भएन | सायद सन २००० तिर होला मलाई असाध्य मनपर्ने गायक दीप श्रेष्ठ अमेरिका आउनु भयो | त्यो बर्ष पनि हतारो अनि चटारोहरुकै बिचमा झारो टार्ने काम भयो | उहाँ जस्ता गायक आउँदा आफुले केहि गर्न नसकेकोमा मलाई निक्कै दुख्यो अझ मेरो घाउलाई कोट्याउँदै आदरणीय दीप दाईले भन्नु भयो "शैलेश भाई तिमीहरु कस्सिएर लागेको भए यो भन्दा राम्रो कार्यक्रम गर्न सक्ने रहेछौं |"

अक्सर अरुको उपल्लो अपेक्षाले हामीलाई दुखाउँछ, दीप दाईको त्यो वाक्यांशले अझै मलाई दुख्छ | करिब चार पाँच महिना अघि मलाई मन पर्ने गायक भाईहरु सत्य राज आचार्य अनि स्वरुप राज आचार्य कहिँ दिन मैत्रीपूर्ण बास बस्न हल्लाको सहर न्युयोर्क आए तर ति सांगीतिक हिराहरुको जादुमय चमकलाई हामीले आत्मसात गर्न सकेनौं किनकी जात, गोत्र, विचार अनि क्षेत्र मिलेको भरमा ब्यक्तिबादी नाफामुलक सौदाबाजीमा कलाकार अनि सर्जकहरुको छनौट गर्ने बानी हामीलाई बस्यो | गीत, संगीत अनि कलाको नाम बेचेर प्रदर्शन गरिने मदारी नाच हामीले धेरै हेर्यौं |

जसरी पत्रकारहरु देखेर अचेल ब्यबसायी गृहका व्यक्तिहरु बिज्ञापन दिनु पर्ला या कुनै कार्यक्रम प्रयोजन गर्नु पर्ला भनेर टाउको लुकाउँछन म पनि त्यस्तै गरेर त्यस्ता सिर्जनाका नाममा सौदाबाजीपूर्ण मदारी नाच देखाउने आयोजकहरुसंग मुन्टो बटारेर हिड्छु | केहि महिना अघि सुगम संगीतमा स्थापित गायक यम बरालले न्युयोर्क मै "यम बराल एकल साँझ" को आयोजना गरे त्यो कार्यक्रममा पनि गीत अनि संगीतमा निर्लिप्त हराउने मेरो सपना बल्झीएको थियो तर मेरो मन त्यति बेला रोयो जति बेला नेपाली सुगम संगीतका हस्ती यम बराल आफ्नो गायकी भन्दा पनि कार्यक्रमको आयोजन, ध्वनी संयोजन तथा अन्य तपसिलका कुरामा अड्किरहेका अनि अल्झिरहेका देखें |

त्यो मेरो जीवनमा अर्को पीडादायी क्षण थियो | ति यावत हैसियत अनि हविगतलाई नजिकबाट अनुभूत गरिरहेकी नेपालकि होनहार गायिका सपना श्रीले मसंग साउती गरिरहेकी थिईन "दाई, यो त पी.आर. हुनेहरुको मात्र युग रहेछ |" मैले उनले बोलेको छोटो सफेद सत्यको यथार्थ अनि गहिराई बुझीपछि मैले यति मात्र भने "बैनी, अहिलेको दुनिया त्यस्तै हो अझ यो पुजीबादी अमेरिकामा बोल्नेको पिठो बढी बिक्छ |" गीत अनि संगीतमा आफैलाई निर्लिप्त हराउने मेरो दशकौं पुरानो सपना अहिले आएर आईलाईन क्रियशनका संचारकर्मी भाई प्रशान एलुंग राईले "मेगा स्टार राजेश पायल राई नाईट्स लाईभ ईन न्युयोर्क" चमकधमकपूर्ण शिर्षक दिएर आयोजना गरेको सांगीतिक कार्यक्रममा गएर अड्किएको छ | अहिले "बेनेफिट अफ डाउट्स" उनलाई दिंदै म उनले भोली शनिबार आयोजना गर्ने यो कार्यक्रम प्रति भने केहि आश्वस्त भएको छु |

बिषयगत परिसम्बादकै क्रममा आफ्नो खरो भाका अनि शैलीमा प्रशान भाईले कफीको चुस्की लिंदै निर्धक्क भएर भन्यो "दाई, यो बिशुद्ध ब्यापार अनि ब्यबसयिकता हो, यो कार्यक्रम गरेर कुनै पिडितलाई पैसा दिने अमुक बाचा पनि गरिंदैन ढुक्क हुनुस कसैको मुटु फेर्ने कलेजो फेर्ने उधारो आश्वासन दिएर मलाई टिकट बेचेर दाम कमाउनु छैन |" उसले त्यसो भनिरहँदा भुकम्प पीडितहरुको नाममा संसारभर डलर, पाउण्ड अनि युरो उठाएर अपचलन गर्ने कुरुप मानचित्रहरु मेरो मनमा नाचिरह्यो | मेरो मनमा पुरक प्रश्नहरुको बिकराल ज्वारभाटा नउठेको हैन तर उनले हामीलाई बोल्ने ठामनै नदिई प्रवचन निरन्तर अघि बढाए "फेरी पनि भन्छु दाई, दशौँ हजार डलरको जोखिमपूर्ण लगानी भएको छ, केहि सय डलर कमाउने हक मलाई पुरापुर छ |"

त्यसो भनिरहँदा उनी निक्कै रौसिएका अनि हौसिएका थिए, त्यसको दरिलो उर्जाशील आधार थियो सबै खाले गीत उत्तिकै कौशलका साथ गाउन सक्ने गायक राजेश पायल राईको गायकी शैली | यिनलाई खोई आफैले हो की कल्ले हो राजेश पायल राईलाई "राई ईज किङ्ग" को तामसी बिल्ला पनि भिराई दिएका छन | गायकीका हैसियतमा उनी "किङ्ग" नै हुन तथापि उनी आफैले भनेका हुन भने चाँही एक्काईसौं शताब्दीमा मान्छेहरुलाई त्यति हजम हुँदैन |

आयोजक प्रचार, प्रसार अनि ब्यबसाय प्रबर्धनमा उम्दा लाग्दछन | उनले थुप्रै अतिरिक्त क्षेत्रहरुमा सम्भावित दर्शकहरुलाई थप प्रत्याभूति दिने गरेका छन | उनले अर्को नयाँ प्रयोग पनि अघी सारेका छन | यो भिषण भाषण दिर्घ आशनबाट वाक्कदिक्क भएकाहरुलाई आकर्षक तरिकाले समेट्न उनले पोस्टर अनि ब्यानरमा "नो आशन, नो भाषण हन्ड्रेड पर्सेन्ट ग्यारेन्टी" को क्याच्ची लाईन्सको हाईलाईट्स राखेका छन |

एकदिन कफी गफमा एउटा संगीतका पारखी भाईले उनको बारेमा यस्तो तुफानी गफहरु पनि मैले सुनें: "राजेश पायल मन्चमा छिर्दा लङ्ग (टप) कोट लगाएर पसेको हुन्छ अनि दर्शकलाई नचाउँदै आफु पनि नाच्दै असिनपसिन हुँदै दुई घण्टा अढाई घण्टा बितेको कसैलाई पत्तै हुँदैन भरै लाष्टमा सोमले त स्यान्डो भेष्टमा पो कार्यक्रमको बिट मार्छ |" हैट, यो चाँही अलि बढीनै दिए जस्तो लाग्यो अनि मैले पनि मुख फर्काए "लु है भाई स्यान्डोसम्म त ठिक्कै हो हेरौंला, फेरी स्यान्डो पनि फालेर सोमले "राई ईज किङ्ग" भन्दै आफ्नो "टेन प्याक" देखायो भने चाँही बितायो | नेपाली दर्शक श्रोता राजेश हमालको "सिक्स प्याक" हेरेर वाक्क-दिक्क भईसकेका छन |

#Sampreshanblog #RajeshPayalRai #EyelineCreations #ShaileshShrestha #sampreshanorg

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.