थेत्तरो एनआरएन अमेरिका र आकाशे सपनाहरु

हाम्रो थेत्तरो एनआरएन अमेरिकामा केहि दर्जन मानिसहरु उधारो आश्वासन अनि आकाशे सपनाहरु लिएर उदाएका छन | बाह्रै मास चुनाब लाग्ने हल्लाको सहर ज्याक्सन हाईट्स अहिले मोलमोलाईको कमाउ अखडा अनि शौदावाजीको किल्ला बनेको छ | केहि र कोही सुन्छन, केहि सुनेको जस्तो गर्छन तर माखो मार्दैनन अनि केहि र कोही एक कानले सुनेर अर्को कानले उडाई दिन्छन | एनआरएन अमेरिकाको निरन्तर आकस्मिकता यस्तै छ न गरि खान्छ न मरि जान्छ |

यो संगठनलाई हामी न्युयोर्क आसपासको संचारकर्मीहरुले जति सायद कसले जानेको, छामेको, भोगेको अनि चिनेको होला र? मैले एनआरएन अमेरिकाको परिबेग सिर्जना भएपछिको पहिलो दिनदेखि अरु संचारकर्मी सहकर्मी मित्रहरुले भन्दा बढी खरो अनि छुच्चो बनेर लेख्ने अनि बोल्ने गरेको छु | तर यो संगठन र यसका "मुखियाहरु" ज्याद्रो, जिराहा अनि थेत्तर भईसकेका छन |

त्यसको मतलब के अब हामी आँखा बन्द कानमा कपास कोचेर यिनीहरुको नकचरो नाटक हेरेर अनि सुनेर रमिते बनेर बस्छौं त ? कि चुपचाप हामी हार्यौं अनि थाक्यौं भनेर खुद्रा राजनीतिको काँटा-किल्ला अनि बैचारिक बिल्ला भिरेका भुरेटाकुरे कार्यकर्ताहरुलाई "कब्जा" गर्ने बाटो खाली गरि दिन्छौं?

अहं त्यस्तो हुन किमार्थ दिंदैनौं !

जति खत्तम भयो भने पनि हामी केहि अनि कहिँ राम्रो पनि गरिरहेका छौं | खगेन्द्र क्षेत्रीको कार्यकालमा हाम्रो पहरेदारी अनि निरन्तर दवाबका कारण अधिकांश कार्यकारीहरुले आ-आफुले सम्हालेको राजनैतिक हैसियत अनि कार्यकारी पदहरुबाट राजिनामा गरेकै हुन | त्यस्तो दवाब सिर्जना गराउने क्रममा "मिट द प्रेस" समारोह "पिट द प्रेस" मा परिणत भएका दुरुह दृश्य र घटनाहरुको हामीले सामना गरिसकेका छौं |

अहिलेको संस्थापनमा बसेर निरन्तर कुनै पार्टी बिशेषको काम गरिरहेको अनि कैयन सक्रिय राजनीतिकर्मीहरुलाई नियुक्ति गरिएको बारे हामीले निरन्तर पहरेदारी अनि निगरानी गरिरहेकै छौं | वर्तमान सचिब शंकर खड्काले निरन्तर अटेर गरेर बिधि-बिधान अनि मौजुदा कानुन मिच्ने काम गरेपछि उनलाई तुरुन्त बर्खास्त गरिनु पर्छ भन्नेसम्मको निजि विचार मैले सम्प्रेषण गरिसकेको छु | आशा अनि बिश्वास छ वर्तमान कार्यसमितीले त्यो माग प्रति गम्भीर अनि जिम्मेवार भएर सम्बोधन गर्ने छ |

वर्तमान कार्यसमितिको एक चौथाई कार्य अवधी अझै बाँकी छ तर लिगलिग कोटको कैफियती लंगडो चुनाबी दौडमा दौडिनेहरुको फेहरिस्त निक्कै लामो भईसक्यो | नीति, नियम, कानुन अनि बिधान मिचेर जंग जितेको बहाना गर्नेहरुसंग हामीले नैतिकता अथवा ईमानको अपेक्षा गर्नु व्यर्थ छ तर हामी दुनियालाई सुचना अनि संचार मार्फत स-शक्तिकरण गर्छौं भन्दै चौथो अंगको बिल्ला भिर्नेहरुको हालत अनि अविगत अझ दुरुह अनि टिठ लाग्दो छ | हाम्रा संचारकर्मी मित्रहरु ज्योतिषीको नयाँ रुप धारण गरेर लेख्न थाली सके "एनआरएन अमेरिकाको अध्यक्षमा फलानोको जित सुनिश्चित"! वाह रे वाह कस्तो कर्म रोज्यौ मित्र, श्रमको गर्विलो कमाई खाने साहस भएन अब आधा पेट खाएर यो अमेरिकामा दासतायुक्त जीवन जिउने निर्णय गर्यौं |

तिमीहरुजस्ता मौसमी ज्योतिषीहरुका कारणले हामी माथी यिनीहरुले धारे हात लगाउँछन अनि बेला बखत तिक्तता अनि कपट ओकल्दै भन्छन "दानापानी खाएर पनि फलानो फलानोले मेरो स्तुतीगान लेखेन "| मित्र, तिम्रा कारणले हाम्रा स्वाभिमानका गर्विलो कलमको मसी सुकेको छ, सँधै उच्च रहने शीर आधा झुकेको छ अनि स्वरहरु मलिन भएको छ | तर यसपाली हामी तपाई आदरणीयमित्रहरु एउटा कित्ता रोज्ने अवसर दिन्छौं तिनीहरुको मौसमी दानापानी कि संचारकर्मको उच्चतम स्वाधिनतायुक्त स्वाभिमानी?

यो पटक हामी संचारकर्मीहरु थप साहसिक, तथ्यपरक अनि एक्यबध्द हुँदै "ईस्यु बेस" पहरेदारी गर्ने गरि हरेक बदनियतपूर्ण रवैयाको प्रतिकार गर्न सुचना र संचार मार्फत अगाडी आउनेछौं | जति गाली गरे पनि खिसीट्युरी गरेर खिज्याए पनि अनि जिस्क्याए पनि एनआरएनए भन्दा सबैलाई एक बनाएर मिलाएर लाने अर्को गैर राजनैतिक प्रारूपको कुनै संगठन छैन अनि हुन सक्ने अवस्था पनि देखिएको छैन | त्यस अर्थमा हामीले पनि आफ्नो घनीभूत जिम्मेवारी लिन अनि पहिलेका दिनहरुमा भए गरेका कमी कमजोरीहरुको याचना गर्दै अघि बढ्न अप्ठेरो मान्नु हुँदैन | त्यस्तो भुलचुक लिन अनि दिन म चाँही तयार नै छु | जय एनआरएन !

#NRNA #NRNNCCUSA #NRNAICC #KeshabPaudel #Sampreshanorg #ShaileshShrestha

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.